पोखरा आत्मदाह घटना : जलेकी महिलाको अवस्था गम्भीर, पुरुषको केही सुधार

नेपालभ्युज

पोखरा आत्मदाह घटना : जलेकी महिलाको अवस्था गम्भीर, पुरुषको केही सुधार
सांकेतिक तस्वीर

पोखरा । पोखरामा आइतबार बिहान भएको  आत्मदाह घटनामा जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेसनरी सञ्चालन गर्दै आएका ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।

उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेसनरी पसल चलाउँदै आएका थिए । ‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’

प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।

‘शनिबार नै बाइकमा प्रट्रोल सकियो भनेर साथीसँग एउटा बोटलमा पेट्रोल लिएका रहेछन्’, एक प्रहरी अधिकारीले भने, ‘बिहान प्रट्रोलको बोतल लिएर बाथरुममा गई शरीरमा छर्किएर आगो लगाउँदै रहेछन् । घरबेटी महिलाले देखेर बोतल खोस्दा उनको ज्यानमा पनि पेट्रोल खस्यो र उनलाई पनि आगो लाग्यो भन्ने छ । थप अनुसन्धान भइरहेको छ ।’

उनले चिकित्सकहरूलाई आफूलाई बाँच्न मन नभएको भन्दै उपचार नगर्न आग्रह गरेका छन् । प्रहरीका अनुसार कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेकाले बाँच्न मन नलागेको बताएका छन्। प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

घटनाप्रति दुवैजनाको परिवार आश्चर्यमा परेका छन् । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved