वेदुराम भन्छन्- घनश्यामलाई महासचिव बनाउनेबारे जानकारी छैन

वामदेव गौतमलाई पनि जोड्ने प्रयास

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भूसालले घनश्याम भूसाललाई महासचिव बनाउनेबारे आफूलाई केही जानकारी नभएको बताएका छन् ।

नेपालभ्युज

वेदुराम भन्छन्- घनश्यामलाई महासचिव बनाउनेबारे जानकारी छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भूसालले घनश्याम भूसाललाई महासचिव बनाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

नेपालभ्यूजसँग कुराकानी गर्दै उनले भने, ‘घनश्याम भूसाललाई महासचिव बनाउनेबारे कुनै जानकारी छैन ।’

त्यसअघि उनले भनेका छन्, ‘उहाँ (घनश्याम भूसाल) लाई महासचिव बनाउनेबारे बाहिर जे आयो, त्यो होइन । मेरो जानकारीमा यो छैन । पार्टीमा यसबारे कुनैखाले छलफल भएको पनि थाहा छैन ।’

उहाँ (घनश्याम भूसाल) महासचिव बन्ने सर्तमै एकीकृत समाजवादी प्रवेश गर्नुभएको होइन र ? भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पार्टीले त भनेको छैन, कसरी थाहा पाउनुभयो तपाईंहरूले ? मलाई थाहा भएसम्म उहाँ (घनश्याम भूसाल) लाई महासचिव बनाउनेबारे पार्टीका कुनै कमिटीहरूमा छलफल भएको छैन ।’

दोहोर्‍याएर सोध्दा उनले भने, ‘मैले आफूलाई जानकारी नभएको बताइसकेँ । पार्टीमा भएको छलफलबारे मलाई जानकारी नहुने त कुरा नहोला ।’

अर्का एक पदाधिकारी भने घनश्यामलाई महासचिव बनाउनेगरी तयारी भइरहेको बताउँछन् । ‘उहाँ (घनश्याम भूसाल) लाई महासचिवको जिम्मेवारी दिने तयारी पार्टीले गरिरहेको छ । उहाँलाई सचिवालयमा मनोनीत गरिसकिएको छ,’ ती पदाधिकारीले भने, ‘उहाँको माग पनि त्यही थियो र त्यहीअनुसार छलफल अगाडि बढेको हो ।’

वेदुराम आफू महासचिवबाट हट्न चाहँदैनन् । तर, एकीकृत समाजवादीका अन्य नेताहरूले भने घनश्यामलाई महासचिव बनाउने बताइरहेका छन् ।

त्यसो त महासचिव वेदुरामको व्यवस्थापन कहाँ र कसरी हुन्छ ? भन्नेबारे पार्टीले छलफल गरिसकेको छैन । उपमहासचिव डा. गंगालाल तुलाधर भन्छन्, ‘उहाँ (वेदुराम भूसाल) लाई कहाँ र कसरी व्यवस्थापन गर्नेबारे कुनै निर्णय भएको छैन । तर, उहाँलाई पार्टीले सम्मानजनक ठाउँमा राख्छ ।’

वामदेव गौतमलाई पनि जोड्ने प्रयास

गत मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई पार्टी कार्यालय नै बोलाएर छलफल गरे । नेकपा एकता महाअभियानका संयोजकसमेत रहेका उनलाई एकीकृत समाजवादीले पार्टीमा ल्याउने प्रयास गरिरहेको छ ।

उपमहासचिव तुलाधर भन्छन्, ‘उहाँ एमालेमै पनि उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसैले यहाँ आउँदा वरिष्ठ उपाध्यक्ष दिने कि भन्नेबारेमा छलफल भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ ।’

अहिले दुवै पक्षबीच एकताका आधार समेटिएको दस्तावेज आदानप्रदान भइरहेको नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved