रामचन्द्र पौडेलले देखेका राष्ट्रिय सहमतिका ३ कारण

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले नेपालमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

नेपालभ्युज

रामचन्द्र पौडेलले देखेका राष्ट्रिय सहमतिका ३ कारण

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले नेपालमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभामा भाग लिँदै नेता पौडेलले भनेका छन्, ‘नेपालको आज खड्किएको आवश्यकता भनेको राष्ट्रिय सहमति नै हो, सबै दलहरू एकठाउँमा उभिनु नै हो ।’

देश र जनताका लागि सबै दलहरू एकठाउँमा उभिनुको विकल्प नरहेको तर्क नेता पौडेलको छ । ‘मूलत: ३ वटा कारणले गर्दा नेपालमा अहिले राष्ट्रिय सहमति चाहिन्छ । अब दलहरू आफैँ बाझेर, छुट्टिएर बस्ने बेला घर्किसकेको छ,’ उनले भने, ‘अब दलहरू, नेताहरू फरक ठाउँमा बसेर काम छैन ।’

नेता पौडेलले राष्ट्रिय सहमति किन हुनुपर्छ भनेर औंल्याएका ३ कारणहरू यसप्रकार छन्;

१. कमसल अर्थतन्त्र भएकाले राष्ट्रिय सहमति चाहिन्छ :

नेता पौडेलले नेपालको अर्थतन्त्र कमसल हुँदै गएको बताए । ‘हेर्दै जानुहोला, अब विस्तारै हामी तलब र पेन्सिङ दिनै नसकिने अवस्थामा पुग्दैछौँ,’ उनले भनेका छन्, ‘यसलाई रोक्नका लागि राष्ट्रिय सहमति चाहिन्छ । यदि अहिल्यै राष्ट्रिय सहमति भएन भने हामी कठिन परिस्थितिमा फस्न सक्छौँ ।’

उनले देशलाई अनुदान नभइ ऋण दिनेहरूको मात्रै भीड लाग्ने गरेको दृष्टान्त सुनाए । ‘त्यसैले मैले एमसीसी स्वीकार गर्नुपर्छ भनेको हुँ,’ उनले भने, ‘देशमा पैसा छैन । ऋण दिनेहरू मात्रै छन् । अनि देश कसरी चलाउने । यसलाई चुनौती दिनका लागि पनि हामीलाई राष्ट्रिय सहमति चाहिन्छ ।’

त्यसअघि उनले भने, ‘हामी ऋण लिन्छौँ र श्रीलङ्काको जस्तो अवस्था भोग्नतिर उद्धत हुन्छौँ । यसो हुनु हुँदैन, हामी अब राष्ट्रिय सहमतिअनुसार अघि बढ्नुपर्छ ।’

राष्ट्रिय सहमति गरेर अगाडि बढेको खण्डमा यस्ता चुनौतीलाई चुनौती दिन सकिने भनाइ नेता पौडेलको छ, भने— ‘समस्यालाई चुनौती दिन एक/दुईजनाले सकिँदैन । सबै शक्तिहरू एकठाउँमा उभियौँ भने सजिलै सकिन्छ । त्यसैले राष्ट्रिय सहमति गरौँ ।’

२. भूराजनीतिक दबाब बढेकाले राष्ट्रिय सहमति चाहिन्छ :

नेता पौडेलले नेपालमाथि भूराजनीतिक दबाब बढिरहेको र त्यसलाई रोक्नका लागि राष्ट्रिय सहमति चाहिने बताए । ‘भूराजनीतिक प्रभाव र दबाबका कारण नेपालको आकाशमा सितयुद्ध मडारिरहेको देख्छु, यसलाई रोक्नका लागि सबै दलहरू एकठाउँमा आउनुपर्‍यो,’ उनले भने, ‘नेपालमाथि खुब भूराजनीतिक दबाब बढेको छ । यसलाई रोक्न राष्ट्रिय सहमतिबाट मात्रै सम्भव छ ।’

त्यसअघि उनले भने, ‘हिजो सितयुद्ध यूरोपको आकाशमा थियो, आज हाम्रो आकाशमा देखिन्छ, हाम्रो हिमालमाथि सितयुद्ध देखिन्छ । हिजो स्वीट्जरल्यान्डले आफूलाई तृतिय विश्वयुद्धबाट कसरी बचायो, त्यसबाट शिक्षा लिँदै हामी मिल्नुपर्ने अवस्था छ ।’

नेपाल बाह्य शक्तिहरूको खेल्ने ठाउँ भएको भन्दै उनले यस्तो प्रकारान्तरमा यसले ज्यादै ठूलो प्रभाव पार्ने बताए । यसलाई अहिल्यैदेखि रोक्नका लागि दलहरू मिल्नुपर्ने भनाइ नेता पौडेलको छ, भने— ‘बाह्य शक्तिहरूको सामना सबैले गर्नुपर्छ । नकारात्मक शक्तिहरूको खिलापमा सबै दलहरू उभिनुपर्छ । त्यसका लागि हामीले राष्ट्रिय सहमति बनाउनुपर्छ ।’

३. शान्ति प्रक्रिया पूरा र सुशासन नभएकाले राष्ट्रिय सहमति चाहिन्छ :

नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि पनि सबै दलहरू एकठाउँमा उभिनुपर्ने बताए । ‘शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्नू हाम्रो प्रमुख दायित्व हो, यसका लागि दलहरू एकठाउँमा उभिनुपर्छ, उनले भने ।

‘पीडितहरूको चहर्‍याइरहेका घाउहरूमा मल्हम-पट्टी गर्नू हामी सबैको कर्तव्य हो, यही सरकारले त्यो काम गर्नुपर्छ । त्यसो हुँदा यसका लागि पनि राष्ट्रिय सहमति भयो भने सहज हुन्छ,’ उनले भने ।

नेता पौडेलले सुशासनका लागि पनि राष्ट्रिय सहमति चाहिने उनले बताए । ‘हामीले शासनको विकेन्द्रिकरण गर्‍यौँ, त्योसँगै भ्रष्टाचार तथा कुशासनको पनि विकेन्द्रिकरण गर्‍यौँ, यसका लागि हामीले काम गर्ने कि नगर्ने, यो आज सोच्नैपर्ने विषय हो, उनले भने, ‘यसका लागि हामीबीच राष्ट्रिय सहमति हुनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved