प्रभु र सेञ्चुरी बैंकको मर्जरसँगै आजबाट एकीकृत कारोबार सुरु

नेपालभ्युज

प्रभु र सेञ्चुरी बैंकको मर्जरसँगै आजबाट एकीकृत कारोबार सुरु

काठमाडौं। प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकको एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न पुस १९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ति गरेको हो । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तिका लागि स्वीकृति प्रदान गरेका थिए ।

सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । प्राप्तिपश्चात् बैंकको केन्द्रीय कार्यालय हालको प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान, बबरमहल, काठमाडौंमै रहनेछ । प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ ।

त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनसपछि सेञ्चुुरीको चुक्तापूँजी रू. १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ । दुवै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

एकीकृत कारोबारका लागि तथ्याङ्क मिलान गर्न पुस २२ गतेदेखि २६ गते बिहान ९ः४५ बजेसम्म दुवै बैंकको केन्द्रीय कार्यालयदेखि सम्पूर्ण कार्यालयबाट प्रदान हुने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved