पर्यटकको आकर्षणको केन्द्र : मिथिला सागर

पर्यटकको आकर्षणको केन्द्र  : मिथिला सागर

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका ७ पोखरियामा रहेको मिथिला सागर अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । अहिले यहाँ आउने आन्तरिक पर्यटकहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ को फस्ट जनवरीदेखि अझ बढी नै यस मिथिला नगरपालिका ७ ढल्केवरस्थित पर्यटकीयस्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरूको भिड लाग्न थालेको छ। मधेस प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको मिथिला सागरमा टाढा–टाढाका पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आउने गरेका छन् ।

हरियाली जंगल, ताल–तलैया, रमणीय पहाड र मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ । हो, यस्तै चिजबिजहरूले भरिपूर्ण मिथिला सागर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

मिथिला नगरपालिकालाई मधेस प्रदेश राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वारको रूपमा पनि चिनिन्छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर चोकबाट तीन किलोमिटर उत्तर लागेपछि पुग्न सकिन्छ पोखरीया भन्ने स्थानमा । चारैतिर सालको घना जंगल छ । अनि उत्तरतिर रमणीय चुरिया पहाड। त्यसको काखमा अवस्थित छ मिथिला सागर । तालमा सयर गर्ने अहिले पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। वनभोज खाने र तालमा सयर गर्नेहरूको संख्यामा समेत वृद्धि भएको छ। अहिले यस ठाउँमा दिनप्रतिदिन पर्यटकहरू आउन थालेपछि यो ठाउँ निकै आकर्षणको केन्द्र बनेको छ ।

केमलीपुर र पोखरिया दमार सामुदायिक वनका सिमानामा सात बिघा क्षेत्रफलमा फैलिएको छ। सागरको बीच भागमा उत्तरेश्वर महादेव मन्दिरले तालको महत्त्व बढाएको छ।

जंगलनजिक रहेको औरही खोलाबाट पाइपमार्फत तालमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था गरिएको छ । त्यसै, पाइपबाट खानेपानीको व्यवस्था पनि । तालमा चारवटा डुंगा राखिएको छ । ताल घुमघाम गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक डुंगामा सयर गरेर निकै रमाउने गर्छन्।

अहिले प्रत्येक शनिबार सामूहिकरूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरूको अत्यधिक भिड लागेको छ। पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

आज शनिवार मिथिला सागरमा एक सयभन्दा बढी समूह पिकनिकका लागि आएको संरक्षण समितिका पदाधिकारी देवराज घिमिरेले बताए ।

‘शान्त ठाउँ छ। घुम्न आउनेहरू मिथिला सागर मन पराएर जान्छन् र फेरि आउँछन्,’ केमलीपुरका ४७ वर्षीय राजमान विकले भने, ‘टाढा–टाढाबाट मानिस यहाँ घुम्न आउँछन्। वनभोज खान पनि आउने गरेका छन्।’

एक वर्षअघिको कुरा सम्झिँदै उनले भने, “सानो पोखरी थियो। त्यसमा गाईभैँसी आएर आहाल बस्थ्यो। अहिले संरक्षण गर्दा सुन्दर ताल पो बन्यो।”

सो तालको किनारमा लगाइएको विभिन्न प्रजातीहरूको फूलले समेत पर्यटकहरूलाई यहा तान्ने गरेको छ ।

वनबाट आउने कुहु‘ कुहु‘ कोइलीको कोकिल आवाजले पर्यटक मोहित हुन्छन्। तालनजिकैको वनमा देखिने मयुर, भँगेरा, मैना, रूपीले पर्यटकको ध्यान तानेको छ।

तालमा डुंगा सयर गर्न, वनभोज खान, घुम्न दिनहुँ उल्लेख्य संख्यामा पर्यटक आउने गरेको तालको रेखदेखमा खटिएका गणेश खड्काले बताए । एउटा डुङ्गामा चार जनासम्म सयर गर्छन, आधा घण्टा सयर गर्न प्रति डुंगा ६० रुपैयाँ लिने गरेका छौं, खडकाले भने, “यहाँ पिकनिक खान आउनेलाई अहिले निःशुल्क गरिएको छ ।”

पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर यो ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक पाँच सयदेखि हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन् ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले मिथिला नगरपालिकाले चुरिया संरक्षण गरेर तराईको उर्वरभूमि मरुभूमिकरण हुनबाट बचाउन केही वर्षअघि डीपीआर बनाएर योजनाबद्ध रूपमा काम थालेको बताए । उनले यस स्थानलाई मधेस प्रदेशकै नमुना पर्यटकीयस्थल बनाउने आफूहरूको सोच रहेको बताए।

चुरे ताल निर्माणपछि चुरे संरक्षणमा सहयोग पुगेको छ । मेयर महतोले यस स्थलको थप आकर्षण बनाउनका लागि सहरी विकास मन्त्रालयमा मिथिला सागरको डिपीआर पेससमेत गरिएको जानकारी दिए।

मिथिला सागरको विकास गर्न सहरी विकास मन्त्रलायबाट चार करोड बजेट स्वीकृत भएको छ । भौतिक पूर्वाधार निर्माणका लागि टेन्डर भई काम भइरहेको छ, मेयर महतोले भने, “भ्युटावर, बगैँचा, चिल्ड्रेन पार्क, ध्यान कक्ष, स्विमिङ पुल, चिडियाखानाजस्ता पूर्वाधार निर्माण भई रहेको छ।”

चुरेमा ताल बनेसँगै जंगली जीवजन्तु, चराचुरुङ्गी पानी खान तालमा आउने गरेको मिथिला नगरपालिकाका स्थानीय तथा सामुदायिक वन उपभोक्ता समितिका मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्माले बताए।

चुरे जोगाउने प्रयास 

मिथिलाको पावन नगरी जनकपुरधामभन्दा २८ किलोमिटर उत्तरमा पर्छ मिथिला सागर। ढल्केबर चोकबाट तालसम्म आउनलाई सडक विस्तार गरिएको छ।

४० लाख खर्च रुपैयाँ गरेर केमलीपुरस्थित बसही खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ। एक करोड २५ लाख रुपैयाँ खर्चेर डेढ किलोमिटर सडक पक्की ढलान गरिएको छ।

सडकलाई खोलाको बाढीबाट बचाउन बसही खोलामा तटबन्धसमेत बाँधिएको छ।

जनकपुरधामलाई चुरेसँग जोड्ने कडी 

प्राचीन मिथिला तथा मधेस प्रदेशको राजधानी जनकपुरधामको लागि मिथिला नगरपालिका प्रवेशद्वार हो।

“जनकपुरधाम आउने पर्यटकलाई आकर्षित गर्न सक्छौँ, त्यो सम्भावना मिथिला सागरसँग छ,” मेयर महतोले भने, “पहाड, वनजङ्‍गल, खोलानालालाई संरक्षण गरेर पर्यटकीय गन्तव्यका रूपमा ताल निर्माण गरिएको छ।”

“जनकपुरधामलाई पर्यटकीय दृष्टिकोणबाट जोड्न मिथिला सागर महत्त्वपूर्ण कडी बन्न सक्छ,” मेयर महतोले भने, “जनकपुर आउने पर्यटकलाई ल्याउन सक्यौं भने उहाँहरूलाई पक्कै पनि केही फरक वातावरण महसुस हुनेछ।” पर्यटकलाई आकर्षित गर्ने मनमोहक प्राकृतिक सौन्दर्य मिथिला सागर तालमै रहेको स्थानीयको भनाइ छ।

स्थानीय जनप्रतिनिधिको अथक प्रयासपछि मिथिला सागर पर्यटकीय स्थलको रूपमा परिणत भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको स्थानीयहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved