अफगान महिलामाथि तालिबानको अत्याचार झनझन् बढ्दै

महिला विद्यार्थी भन्छन् ‘तालिबानले अल्लाह र स्वर्गको कुरा गर्दछ तर, मान्छेको जिन्दगीलाई भने नर्क बनाइरहेको छ ।’

नेपालभ्युज

अफगान महिलामाथि तालिबानको अत्याचार झनझन् बढ्दै

काठमाडौं। इस्लामिक कट्टरपन्थी संगठन तालिबानले शासन गरिरहेको अफगानिस्तानमा महिलामाथिका प्रतिबन्ध र दमन झनझनै कसिलो बनाउँदै लगिएको छ ।

गत महिना डिसेम्बर २१ म तालिवान शासनले महिलालाई विश्वविद्यालय शिक्षा लिन प्रतिबन्ध गर्ने घोषणा गरेको थियो । तालिबान सरकारका शिक्षामन्त्री नेदा महोम्मद नदीमले सबै सरकारी तथा निजी विश्वविद्यालय र क्याम्पसलाई पत्र लेख्दै छात्रालाई विश्वविद्यालय हातामा प्रवेश नदिन निर्देशन दिएका थिए ।

उनले यो आरोप लगाएका थिए कि विश्वविद्यालयका छात्राले ‘इस्लामिक ड्रेस कोड’ लाई अवज्ञा गरिरहेका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा छात्राको पोशाकलाई इंगित गर्दै भनेका थिए–‘विश्वविद्यालय भनेको बिहे पार्टीमा जस्तो भएर जाने ठाउँ हैन ।’

छात्रालाई विश्व विद्यालय जान रोक लगाएपछि क्याम्पस प्रशासनले भने महिला विद्यार्थीका लागि ‘अनलाइन क्लास’ सुरु गर्ने प्रयत्न गरिरहेका छन् । तर, ती अपर्याप्त र प्रभावकारी नभएको अफगान छात्राको गुनासो छ । त्यसको केही महिना अघि तालिबान सरकारले महिलालाई एनजिओमा काम गर्न रोक लगाएको थियो ।

तलिबान सरकारका यस्ता निर्णयले अफगान महिला र जनतामा असन्तुष्टि बढ्दै गएको छ । एक महिला विद्यार्थी इरोमले संचार माध्यममा भनेकी छन्–‘पढाई सकेर जागिर खाने र परिवारलाई सहयोग गर्ने मेरो जीवनको ठूलो सपना थियो ।

तालिबानले हामीलाई बच्चा पाउने र हुर्काउँने बाहेक अरु कुनै काम गर्न नदिने भयो । तालिबान सुध्रियो होला भन्ने आशा थियो, दोस्रोपटक सत्तामा आउँदा झनै कट्टर भएर आएछ ।’

अर्की एक महिला विद्यार्थी नुरुजाई शादलिनका अनुसार तालिबान शासनले अफगान महिलाको जिन्दगीलाई नर्कतुल्य बनाइ दिएको छ । उनले भनेकी छन्–‘तालिबानले अल्लाह र स्वर्गको कुरा गर्दछ तर, मान्छेको जिन्दगीलाई भने नर्क बनाइरहेको छ ।’

काबुल विश्वविद्यालयका प्रोफेसर हसिबुल्ला तरिनका अनुसार–‘अफगान महिलामाथि भइरहेको अत्याचार मानव अधिकारकै एक ठूलो उपहास हो । महिलाका लागि घर कैद जस्तो भएका छन् । सरकारले उनीहरुलाई स्वतन्त्रतापूर्वक शहर घुम्न दिँदैन । चाहेजस्तो कपडा लगाउँन दिँदैन ।

सरकारले तोकेका निश्चित काममा बाहेक सबै प्रकारका रोजगारमा प्रवेश गर्न दिँदैन । विश्वविद्यायको परिक्षा कक्षा नलिइकन स्वअध्ययनबाट दिनु पर्दछ । एक्काइशौं शताब्दिमा कुनै देशमा यस्तो पनि शासन छ, यसरी पनि आफ्नै आमा, दिदीबहिनीलाई सताइन्छ भन्ने सुन्न पर्दा संसार आश्चर्यचकित होला तर अफगानिस्तानको यो वास्तविकता हो ।’

तालिबान सरकारका यस्ता क्रियाकलापविरुद्ध अफगान शहरमा विरोध प्रदर्शन भइरहेका छन् । तर, सरकारले प्रदर्शनकारीको आवाज सुन्नुको साटो उल्टै दमन गर्ने गरेको छ ।

गत बर्षको मेमा तालिवान अफगानिस्तानको सत्तामा आएको थियो । यस अघि सन् १९९६–२००१ को बीचमा पनि त्यहाँ तालिबान शासन चलेको थियो ।

दोस्रोपटक सत्तामा आएलगत्तै तालिबानले महिलालाई सार्वजनिक स्थलमा बुर्का लगाउँन अनिवार्य गरेको थियो । साथै, घरबाट कुनै पुरुष संरक्षक विना ७० किमीभन्दा लामो यात्रा गर्न प्रतिबन्ध लगाएको थियो ।

महिलामाथिको तालिबान सरकारको नीति, पक्षपात, अत्याचार र दमनको विश्वव्यापी रुपमा विरोध भइरहेको छ । तर, तालिबान नेता र प्रशासनले त्यसलाई कुन महत्व दिएका छैनन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved