२० भन्दा बढि हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छु्ट्दैछन्, भारतमा जेलबाटै भागेका थिए

अपराधको दुनियाँमा रमाउने सिरियल किलरको अन्तर्कथा

शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी थिए । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । १९ वर्षदेखि कैदी जीवन बिताइरहेका उनलाई १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन अदालतले आदेश दिएको छ ।

नेपालभ्युज

२० भन्दा बढि हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छु्ट्दैछन्, भारतमा जेलबाटै भागेका थिए

काठमाडौं। सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएसँगै उनको रिहाइ प्रक्रिया सुरु भएको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएपछि कारागार व्यवस्थापन विभागले प्रक्रिया अघि बढाएको हो।

शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । १९ वर्षदेखि केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका उनलाई १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन आदेश दिइएपछि अब स्वदेश फर्कन पाउने भएका छन्।

आदेशपछि सर्वोच्चले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं र भक्तपुरमा पत्राचार गरिसकेको छ। ‘‘अदालतबाट औपचारिक पत्र आएपछि उहाँलाई जेलमुक्त गरिन्छ। अहिले आधिकारिक पत्र आइसकेको छैन’’ केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले भने।

शोभराजले ९५ प्रतिशत सजाय भोगिसकेका र ज्येष्ठ नागरिक भएकाले छाड्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा परेको थियो। १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालिएको थियो।

ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुटको सुविधा पाउँछन्। सो दिलाउन माग गर्दै शाेभराजले सर्वोच्चमा रिट हालेका थिए। उनको जिकिरलाई अदालतले स्वीकार गर्दै रिहा गर्न आदेश दिएको हो।

उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने फैसला थियो। सर्वोच्चले भने वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्ड विपरीत एकान्तवासमा राखिएको भन्दै सर्वोच्चले कैदमुक्त गर्ने आदेश दिएको हो।

शोभराजले सन् १९७५ (विक्रम संवत् २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरा नदीमा मारेका थिए। दुई दिनपछि उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरे। हत्यापछि उनी फरार भए।

शोभराज फेरि २०६१ सालमा काठमाडौं आए। त्यही बेला उनी पक्राउ परे। घटनाको २९ वर्षपछि पक्राउ परेका उनीविरुद्ध काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो।

दुवै अदालतले उनलाई फरक-फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन्। काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।

को हुन् शोभराज ?

हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको उपनिवेश गरेको साइगोनमा ६ अप्रिल सन् १९४४ मा शोभराज जन्मिएका थिए। पारिवारिक वातावरण राम्रो नभएका कारण शोभराज किशोरावस्थाबाट नै चोरी र लुटपाटमा संलग्न बने।

सन् १९६३ मा पेरिसमा पहिलोपटक चोरीको अभियोगमा पक्राऊ परे । जेलमा रहँदा उनको ठूला अपराधीसँग भेट भयो । त्यसपछि उनी पेरिसको सम्भ्रान्तदेखि अन्डरवल्डसम्मको संगतमा परे । त्यसपछि उनी कुख्यात अन्तर्राष्ट्रिय अपराधी बने।

उनले विवाह तय गरेका थिए। तर बिहे नहुँदै कार चोरीको अभियोगमा पक्राउ परे। आठ महिना जेल बसेर छुटे । त्यसपछि विवाह गरे । बिहेपछि पनि उनी अपराधको दुनियाँमा व्यस्त रहे। प्रहरीको सर्वाधिक खोजी सूचीमा परेपछि उनी भागे। नक्कली कागजपत्रसहित एसियातर्फ आए। एसियाका थाइल्यान्ड, भारत, नेपाल आएपछि पनि उनी पर्यटकहरूलाई लुट्थे । हत्या पनि गर्थे ।

उनी भारत, अफगानिस्तान, ग्रीसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परे । तर, हिरासत र जेलबाटै भाग्न पनि सफल भए। किनकि उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे। कतिपय अवस्थामा प्रहरीलाई घुस खुवाएरै भाग्थे।

विभिन्न देशमा शोभराजले २० भन्दा बढी पर्यटकको हत्या गरेका छन्। थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेको बताइएको छ । उनलाई भारतमा सन् १९७६ मा २१ वर्ष जेल सजाय सुनाइएकाे थियाे।
तर उनी १० वर्षमै जेलबाट भागे। आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो। भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे।

भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए। थाइल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ। भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएका थिए।

उनी सन् २००३ (२०६१) मा नेपाल आउँदा पक्राऊ परेका थिए । नेपालमा १९ वर्ष जेल जीवन बिताइसकेका शोभराज अहिले वृद्धावस्थामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved