इन्धनको मूल्य घटाउन निगमको आलटाल

नेपालभ्युज

इन्धनको मूल्य घटाउन निगमको आलटाल

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन सक्ने अवस्था नभएको बताएको छ । निगम इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आईओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ ।

नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा मूल्य घटेर आएको थियो । तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायोजन गरेको हाे ।

भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको याे पहिलेपटक भने होइन । आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायोजन नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

आईओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको देखिँदैन । यदि घटाइहाल्नुपर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरु बताउँछन् । पाँच महिनादेखि निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले सास्ती भोग्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए ।

उनले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदासमेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालासँग जवाफ मागे । मूल्य घटेर आउँदा पनि निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उनको आरोप छ ।

तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गरेका छन् । मूल्य समायोजन गर्दा कुनै पनि चलखेल नभएको दाबी गर्दै उनले भने, ‘निगमले कुनै किसिमको चलखेल गरेको छैन । हामी शतप्रतिशत पारदर्शी रूपमा मूल्य समायोजन गरेका छौँ ।’

निगम अझै २० अर्ब बढी ऋणभारमा रहेको भन्दै उनले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकारे । ‘जति मूल्य घटाउनुपर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन,’ उनले भने ।

गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस बेलादेखि नै पेट्रोलियम पदार्थक मूल्य अकासिएको थियो । निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियाे । साेही मितिदेखि गत शुक्रबारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो ।

त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगमले तोकेको थियो । जेठयता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाइ बेचिरहेको थियो । भारतले गत मंसिर १५ गते पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved