सरकारी जागिरसँगै तरकारी खेती

नेपालभ्युज

सरकारी जागिरसँगै तरकारी खेती

सुर्खेत। कालिकोट खाँडाचक्र नगरपालिका–३ का ४९ वर्षीय जयप्रसाद पाण्डे पेसाले सरकारी जागिरे हुन् । तर, उहाँका फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती गर्छन् ।

पाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालिकोटमा फोरम्यानको सरकारी जागिर पेशामा रहेका पाण्डेले खाँडाचक्र नगरपालिका–३ ताडी गाउँमा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।

वि.सं.०६२ सालमा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयबाट सरकारी सेवा शुरु गरेका पाण्डेले गाउँमा नै फुर्सदको समयका बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी लिने गरेका छन् । ‘कार्यालयबाट बचेको समय, बिदाको दिन र बिहान बेलुका घरमा नै तरकारी खेती गर्छु ।’ उनले भने,‘यसबाट आम्दानी र घरपरिवार चलाउनका लागि व्ययभार कम भएको छ ।’

पाण्डे गाउँमा बेमौसमी तरकारी खेती, आलु, टमाटर, मुला, गाजर, फर्सीलगायत तरकारीहरूको खेती गर्ने गरेको उनले बताए । ‘कालिकोटको सदरमुकाम बजार मान्मनजिकै रहेको छ ।’ उनले भने,‘बजारको मागअनुसार मैले विभिन्न खाले तरकारी खेती गर्ने गरेको छु ।’

आफ्नै बारीको १० हेक्टर जमिनमा तरकारी खेती गर्ने गरेको त्यसमा परिवारले सघाउने गरेको पाण्डेले बताए । ‘फुर्सदको समयमा मैले काम गर्ने गरेको छु । यसमा परिवारका अन्य सदस्यले पनि काम गर्नुहुन्छ ।’ उनले भने,‘सरकारी जागिरले मात्र परिवार पाल्न सकिँदैन । त्यसैले,  तरकारी खेती पनि गर्ने गरेको छु ।’

सरकारी जागिरको सिलसिलामा २०७३-०७४ सालमा दुई वर्ष मुगु जिल्लामा रहँदा घरमा तरकारी खेती श्रीमतीले गरेको र अहिले आफू घर नजिकैै रहँदा आफूले फुर्सदको समयमा तरकारी खेती गर्ने गरेको पाण्डेले जानकारी दिए। ‘जागिरको सिलसिलामा अन्त सरुवा भए त तरकारी खेती गर्न घरपरिवारलाई भन्छु ।’ उनले भने,‘नजिकै रहँदा आफूले नै तरकारी खेतीमा बढी मिहेनत गर्ने गरेको छु ।’

तरकारी उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नभएको पाण्डेले जानकारी दिए । ‘नजिकै कालिकोटको सदरमुकाम मान्म बजार रहेको छ ।’ उनले भने,‘कर्णाली राजमार्ग नजिकै भएका कारण सुर्खेत, जुम्ला, तथा कर्णाली राजमार्गका अन्य बजारमा बजारीकरण गर्न सकिन्छ ।’

तरकारी खेती आम्दानीको स्रोत भएको र वार्षिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको पाण्डेले बताए । ‘सरकारी सेवामा नहुँदा हाम्रो प्रमुख काम कृषि पेसा नै रहेको थियो । बारीमा गहुँ, मकै, कोदो धान जस्ता अन्नबाली रोप्ने गरेका थियौं ।’ उनले भने ‘पछिल्लो समय अन्नबालीभन्दा बेमौसमी तरकारी खेती गर्ने गरेका छौं ।’

तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिने भए पनि गाउँका प्रायःजसो किसानहरूले तरकारी खेती जस्तो नगदेबाली लगाउन छाडेर अहिले अन्नबालीमा भर पर्ने गरेको उनको भनाइ रहेको छ । ‘अझै पनि ग्रामीण इलाकामा तरकारी तथा अन्य नगदेबालीको खेती गर्ने बानीको विकास हुन सकेको छैन।’ उनले भने,‘परम्परागत रूपमा गर्ने खेती प्रणालीमा नै अहिलेको समाज निर्भर रहेको छ ।’

कालिकोटमा अहिले कर्णाली करिडोर र कर्णाली राजमार्ग रहेको र यी दुईवटा मार्ग रहेका क्षेत्रमा नगदेबाली वा तरकारी खेती गर्ने हो भने बजारीकरणको कुनै समस्या नरहेको उनले बताए । ‘कर्णाली करिडोरले सुर्खेतदेखि कालिकोट– बाजुरा जिल्ला हुँदै हुम्लासम्म छोएको छ । कर्णाली राजमार्गले सुर्खेतदेखि कालिकोट–जुम्ला जिल्लासम्म छोएको छ ।’ उनले भने,‘बेमौसमी तरकारी उत्पादन गरे कुनै बजारीको समस्या छैन । केवल इच्छा शक्ति चाहिन्छ ।’

कालिकोटका बेमौसमी तरकारी खेती गर्नेको संख्या पनि वृद्धि हुँदै गएको उनको भनाइ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved