मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाको दाबी, जनमत निर्णायक !

सीके राउत भन्छन्- हाम्रो दल मुख्यमन्त्रीकाे स्वाभाविक दाबेदार

जनमत पार्टीको १३ सिट जोड्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म लागेका छन् ।

नेपालभ्युज

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाको दाबी, जनमत निर्णायक !

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ । चुनावअगाडि सत्ता गठबन्धनमा सामेल भएको लोसपाले अन्य ६ वटा प्रदेशहरूमा गठबन्धनसम्बद्ध अन्य दलहरूलाई समर्थन गर्ने प्रणसहित मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो । सत्ता गठबन्धनको बैठकमा अध्यक्ष ठाकुरले भनेका छन्, ‘मधेश प्रदेशको सरकार हाम्रो नेतृत्वमा बन्नुपर्छ, अन्य ६ वटा प्रदेशहरूमा अन्य दलहरूलाई हाम्रो भरपुर सहयोग रहनेछ ।’

त्यसो त मधेश प्रदेशमा आफूहरूको स्वाभाविक दाबी रहने कार्यकारिणी सदस्य केशव झा बताउँछन् । ‘हामी पनि गठबन्धनमै छौँ, अन्य ६ वटा प्रदेशमा गठबन्धनका अन्य दलहरूको सरकार बन्दैगर्दा मधेश प्रदेशमा त स्वाभाविकरूपमै हामीले पाउनुपर्ने हो । तैपनि दलहरूलाई मनाइरहनुपर्ने अवस्था छ,’ झाले नेपालभ्यूजसँग भनेका छन् ।

झाले लोसपाले मुख्यमन्त्रीका रूपमा जितेन्द्र सोनललाई अगाडि बढाएको बताए । यसअघि पनि उनी प्रदेश सभाको संसदीय दलको नेताको रूपमा रहेको स्मरण गराउँदै झाले भने, ‘त्यहाँ निर्वाचितमध्ये उहाँ सिनियर लिडर पनि हुनुहुन्छ । हामीले उहाँलाई नै अगाडि सारेका छौँ ।’

तर, दाबी गरेजस्तो लोसपालाई मुख्यमन्त्री पाउन सजिलो भने छैन । त्यहाँ नेकपा (एमाले) नेतृत्वको गठबन्धन र नेपाली कांग्रेस नेतृत्वको गरी दुईवटा गठबन्धन रहेका छन् । तर, उनीहरू दुवै गठबन्धनसँग सरकार गठन गर्न पाउने बहुमत छैन ।

यसो हुँदा मधेश प्रदेशमा चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी निर्णायक देखिन्छ । जनमतले प्रदेश सभामा १३ जना सांसद जिताएको छ । यस्तो अवस्थामा जनमत कुन कित्तामा उभिन्छ, उही गठबन्धनको सरकार बन्ने पक्कापक्की छ ।

लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा छ, उसले यहीँबाट मुख्यमन्त्रीको दाबी गरेको हो । उसो त कांग्रेसबाट पनि तीनजना सशक्त मुख्यमन्त्रीको दाबेदार छन् । कांग्रेसबाट मुख्यमन्त्रीको दाबी गर्नेहरूमा कृष्णप्रसाद यादव, रामसरोज यादव र जनार्दनसिंह क्षेत्री रहेका छन् । उनीहरूले पनि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने दोहोर्‍याउँदै आएका छन् ।

मधेश प्रदेशका एक कांग्रेस सांसदले भने, ‘सरकार गठन गर्न किनै कठिन अवस्था छ । दुई/तीन तहका समस्याहरू छन् । सबैभन्दा पहिले त कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने भयो, त्यसपछि एउटै दलभित्र पनि कसको नेतृत्वमा भन्ने हुन्छ । कांग्रेसको पनि ठ्याक्कै त्यस्तै छ । नेताहरू आफैँ जुध्नुभएको छ ।’

त्यसो त जनमत आफ्नै पनि मुख्यमन्त्रीमा दाबी छ । अध्यक्ष चन्द्रकान्त (सीके) राउतले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालभ्यूजसँग भने, ‘हाम्रो दाबी त स्वाभाविक भइहाल्यो नि ! यद्यपि यसबारे थप छलफल गर्नेछौँ दलहरूसँग ।’

यसको प्रत्यक्ष वा परोक्ष असर सत्ता गठबन्धनबाट मुख्यमन्त्रीको दाबी गर्ने लोसपालाई नै पर्नेछ । उसो त जनमतले जसले आफूलाई मुख्यमन्त्री दिन्छ, उसैसँग गठबन्धन गर्ने रणनीति लिएको छ । मधेशका मुख्य समस्याहरू; शिक्षा र कृषिलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा सफलता हासिल गरेको जनमतलाई आफैँले नेतृत्व नलिएसम्म जन-समस्याहरूको सम्बोधन गर्न सकिन्न भन्ने राम्रोसँग थाहा छ । अध्यक्ष राउतले जोडे- ‘हामीले त जनताकाे समस्याहरूको जिम्मा लिएर आएका छौँ ।’

जसै— जनमतले केन्द्रीय सरकारमा पनि हिस्सेदारी खोजेको छ । यस्तो अवस्थामा मधेश प्रदेशको मुख्यमन्त्रीको दाबी छाड्न सक्ने आकलन गरिएको छ । यदि त्यसै भएपनि लोसपालाई सजिलो भने छैन । सबैभन्दा ठूलो दल कांग्रेसले उसलाई मुख्यमन्त्रीको रूपमा स्वीकार्न गाह्रो पर्ने देखिन्छ ।

कांग्रेस २२ सिटसहित संसद्‌मा दोस्रो ठूलो दल बनेको छ । तर, लोसपा गठबन्धनको पनि ठूलो दल हो । लोसपा यो गठबन्धनको दोस्रो ठूलो दल हो । उसले ९ सिट ल्याएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ८ र नेकपा (एकीकृत समाजवादी) सँग ७ सिट छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।

यसैकारण जनमत पार्टीको १३ सिट जोड्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म लागेका छन् । तर, उसले प्रदेशकाे नेतृत्व खोजिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved