को बन्ला सुदूरपश्चिमको मुख्यमन्त्री ? माओवादीका भट्ट र कांग्रेसका देउवा मुख्य दाबेदार

चुनावी सभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको प्रदेशसभा ‘क’ बाट खगराजलाई जिताएर पठाए मुख्यमन्त्री बनाउने आश्वासन समेत दिएका थिए । 

नेपालभ्युज

को बन्ला सुदूरपश्चिमको मुख्यमन्त्री ? माओवादीका भट्ट र कांग्रेसका देउवा मुख्य दाबेदार

धनगढी। सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने चर्चा सुरु हुन थालेको छ । प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुराबाहेक सबै जिल्लाको परिणाम आइसकेको छ ।

प्रदेशतर्फ ३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा बाजुराको दुई निर्वाचन क्षेत्रबाहेक अन्यको नतिजा आइसकेको छ । अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसले बढी सिट जितेको छ ।

कांग्रेसले ११, माओवादी केन्द्रले ८ सिट जित्दा एमाले नागरिक उन्मुक्तिसँगै ३ सिटमा सीमित भएको छ । एकीकृत समाजवादीले २ र एकजना स्वतन्त्रले जितेका छन् । यसआधारमा सत्ता गठबन्धनबाट प्रदेशसभामा २१ जना सांसदले प्रत्यक्ष जितेका छन् ।

यो प्रदेशमा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक गरी ५३ सांसद हुन्छन् । जसमा प्रदेश सरकार बनाउन २७ जना सांसद् चाहिन्छ । अहिलेको सत्ता गठबन्धनबाट २१ जना प्रत्यक्षबाट जितेर आइसकेको अवस्थामा समानुपातिकबाट चुनिँदा सहजरूपमा सरकार बन्ने देखिन्छ ।

मुख्यमन्त्रीका लागि माओवादीका सुदूरपश्चिम संयोजक खगराज भट्टको चर्चा बढी छ । चुनावी सभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको प्रदेशसभा ‘क’ बाट खगराजलाई जिताएर पठाए मुख्यमन्त्री बनाउने आश्वासन समेत दिएका थिए ।

नेता भट्टले भने सबै क्षेत्रको समानुपातिकतर्फ अन्तिम परिणाम आइनसकेको हुँदा मुख्यमन्त्री को बन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए । भागबन्डाबारे देशभर प्याकेजमै टुंगो लाग्ने भएकाले अहिले प्रदेश सरकार कसको नेतृत्वमा बन्नेबारे छलफल हुन बाँकी रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशसभामा पहिलो पार्टी बनेपछि कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउनुपर्ने दबाब पनि छ । कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालले प्रधानमन्त्रीको गृहप्रदेश पनि भएको र सबैभन्दा बढी सिट पनि जितेकाले  मुख्यमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक हुने बताए ।

कांग्रेसबाट मुख्यमन्त्रीका बलिया दाबेदार कैलाली क्षेत्र नम्बर ५ ख बाट निर्वाचित युवा नेता प्रकाश देउवा उपयुक्त रहेको उनले बताए ।

अहिलेका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल पनि मुख्यमन्त्रीका दाबेदार थिए । तर, दुवैमन्त्री प्रदेशसभा निर्वाचनमा पराजित भइसकेका छन् । अब कांग्रेसबाट बहादुर थापा, दिवानसिंह विष्ट र प्रकाश देउवा मुख्यमन्त्रीका मुख्य दाबेदारका रूपमा रहेको उनले बताए ।

यसबाहेक अहिलेको गठबन्धन कायम रह्यो र एकीकृत समाजवादीको भागमा सरकारको नेतृत्व परे दीर्घ सोडारी मुख्यमन्त्री बन्ने सम्भावना पनि छ ।

को हुन् खगराज भट्ट ?

माओवादीबाट मुख्यमन्त्रीका दाबेदारका रूपमा भट्ट एक्ला व्यक्ति छन् । माओवादीमा उनी अवसर नपाएका नेताका रुपमा चिनिन्छन् । डडेल्धुरामा चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भट्टलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए ।

कैलाली कञ्चनपुरबाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका भट्ट देउवाको मुख्यमन्त्री बनाउने आश्वासनपछि डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए । उनी लगातार तीनपटक २०६४, २०७० र २०७४ सालमा संघीय निर्वाचनमा देउवासँगै हारेका थिए ।

लेखराज भट्ट माओवादी छोडेर एमालेमा गएपछि सुदूरपश्चिम प्रदेशमा खगराज सबैभन्दा सिनियर नेताका रूपमा चिनिन्छन् ।

काे हुन् प्रकाश देउवा ?

प्रकाश देउवा युवामाझ लोकप्रिय रहेका कांग्रेस युवा नेता हुन् । प्रदेश सभामा सुदूरपश्चिममै सबैभन्दा फराकिलो मतान्तरले विजयी भएका देउवा युवाको भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता मानिन्छन् । कांग्रेसले मुख्यमन्त्री पाए उनी नै मुख्य दाबेदार हुन् ।

नातामा शेरबहादुरका भतिजा भएकाले पनि उनको सम्भावना बढी हुनसक्ने कांग्रेस नेताहरू बताउँछन् । तर, यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved