मधेस प्रदेश : मतदाताहरू जनप्रतिनिधि छनोट गर्न आतुर

मधेस प्रदेश : मतदाताहरू जनप्रतिनिधि छनोट गर्न आतुर

जनकपुरधाम। प्राय हरेक निर्वाचनमा तडक भडक र हो हल्ला हुने धनुषासहितका मधेसका जिल्ला यसपटक शान्त देखिएको छ। प्रचार प्रसारको क्रममा कुनै किसिमको ठूलो तडक भडक, होहल्ला र झडपका घटनाहरू कहि कतै देखिएन । निर्वाचनमा यस्तो कुनै किसिमको घटना नहुँदा मतदान शान्तिपूर्ण रुपमा हुनेमा मतदाता ढुक्क मात्र हैन जनप्रतिनिधि छनौट गर्न आतुर पनि छन् ।

१ मंसिर मध्यरात देखि प्रचारप्रसार घरदैलो जस्ता कार्यक्रम बन्द भएर स्थिर समय (मौन अवधि) सुरु भएदेखि मतदाताहरू चोक चोकमा उम्मेदवारहरूको सन्दर्भमा छलफल र समीक्षा हुने गरेको देखिन्छ । चिया पसल, पान पसलहरूमा भेलाहरू हुनेहरूमा घरायसी र व्यक्तिगत भन्दा पनि चुनावकै बारेमा र कसलाई मतदान गर्ने भनि चर्चा हुने गरेको छ।

धनुषा क्षेत्र नं. ४ को मिथिला नगरपालिकाको मुख्य बजार क्षेत्र ढल्केवर चोकको एक चिया पसलमा भेटिएका स्थानीय ७२ वर्षीय बुधन महतोले पहिलेको चुनाव भन्दा यस पटकको अवस्था शान्तिपूर्ण रहेको बताउँछन्। त्यसैगरी, ढल्केवरकी ६५ वर्षीया श्रीवती देवी महतोले आफ्नो गाउँ ठाउँमा यस पटक कुनै किसिमको झैंझगडा नभएको एकदम शान्तिपूर्ण रूपमा सबै पार्टी र उम्मेदवारहरूले प्रचार प्रसार गरेको बताउँछन्। उनले अब भोलि बिहानै गएर भोट हाल्ने बताइन् ।

अत्यधिक घना बस्ती र जनघनत्व रहेको मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३२ सिटका लागि ५९० जना र प्रदेश सभाको ६४ सिटका लागि १ हजार १७ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रेका छन् । मधेस प्रदेशका ३१ लाख १८ हजार ९९२ जना मतदाता अगामि ५ वर्षको लागि आफ्ना जनप्रतिनिधि छान्नको लागि निकै उत्सुक र उत्साही देखिएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका स्थानीय ५५ वर्षीय रमेश प्रसाद गुप्ताले मतदाताहरू निकै उत्सुक देखिएका  बताए । गुप्ताले भने, “खास गरी नयाँ युवाहरू जो पहिलो पल्ट भोट हाल्दैछन्, उनिहरूमा मतदान गर्नको लागि बढी आतुरी देखिएको छ।”

महेन्द्रनगरका १९ वर्षीय संजिता कुमारीले भनिन्, “भोली हुने मतदानमा पहिलो पल्ट सहभागी हुँदैछु । म निकै उत्साहित छु, मतदानको पहिलो अनुभव स्मरणीय हुने छ।” महेन्द्रनगर कै २५ वर्षीय अनिश कुमार शर्माले आफू वैदेशिक रोजगारी हुँदा भोट नै खसाल्न नपाएको र यो पहिलो पटक भोट खसाल्ने मौका पाएकोमा निकै उत्सुक भएको बताए ।

मधेस प्रदेशमा मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार निष्पक्ष रुपमा मतदान सम्पन्न गराउनको लागि ३३ हजार ८ सय ८० जना कर्मचारी खटाइएको छ ।५सय भन्दा बढी मतदाता सहभागी हुने मतदान स्थलमा सुरक्षाकर्मी बाहेक ४ जना स्वयंसेवक सहित १२ जना , ५ सय भन्दा कम हुनेमा ११ जना र २ सय ५० जना सम्म सहभागी हुने अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी निर्वाचन आयोगले परिचालन गरेको मधेस प्रदेशका मुख्यनिर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

मुख्यनिर्वाचन अधिकृत प्याकुरेलले भने, “मतदाताहरूलाई भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण बनाउनकोलागि मतदानमा खटिएका कर्मचारीहरूलाई सक्रिय रह्न निर्देशन दिइएको छ।”

भारतसँग सीमा ३ सय ६७ किमि सीमा जोडिएका मधेसका जिल्लाहरूमा ४ हजार २ सय ३५ मतदान केन्द्र र २ हजार १ सय ५६ मतदान स्थल छन् ।जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले ९० प्रतिशत मतदान स्थल अति संवेदनशील र संवेदनशीलको सूचिमा राखेको छ। भयरहित र शान्तिपूर्णरूपमा मतदान सम्पन्न गराउनको लागि २४ भन्दा बढी म्यादी प्रहरी सहित ४५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ।

कुनै प्रकारको अप्रिय घटना हुन नदिने भनि स्थानीय प्रशासनले मदिरा बिक्री वितरणमा रोक समेत लगाएको छ।

धनुषामा अतिसंवेदनशील १९४ र संवेदनशील १११ मतदान केन्द्र

धनुषा जिल्लामा रहेको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा गरेर ३ सय २२ मतदान स्थलमा ६ सय ५ मतदान केन्द्रहरू रहेका छन्। जसमध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।

प्रतिनिभिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जना, क्षेत्र नम्बर–२ मा १६ जना, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् । यस्तै, प्रदेशसभा १ को (क) मा १४ जना, (ख) मा १४ जना उम्मेदवार छन् भने २ को (क) मा १४ जना र (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० जना र (ख) मा २७ तथा ४ को (क) मा १९ जना र (ख) मा १३ जना उम्मेदवार छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको छ । ८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् ।

मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवक समेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved