नेता घरदैलोमा, युवा रोजगारीका लागि मुग्लानतिर : भन्छन् ‘भोटले काम र माम दिँदैन’

“भोट हालेर खान नमिल्ने, भारतको नोकरीको भरमा परिवार पाल्नुपर्ने, नेताहरू चुनावमा मात्रै आउने, अरु बेला समस्या नबुझ्ने भएकाले कसैलाई पनि भोट हाल्ने मन लागेन, भोटले खान दिने, काम दिने भए घरमै बस्न हुन्थ्यो ।”

नेपालभ्युज

नेता घरदैलोमा, युवा रोजगारीका लागि मुग्लानतिर : भन्छन् ‘भोटले काम र माम दिँदैन’

धनगढी । निर्वाचनका लागि उम्मेदवार घरदैलोमा पुगिरहँदा हजारौं युवा भने रोजगारीका लागि मुग्लानतिर लागिरहेका छन् । विभिन्न एजेन्डा  र वाचा बोकेर उम्मेदवार जनताको घरदैलोमा पुगिरहे पनि बेरोजगारीको मुद्दा भने उठ्न सकेको छैन । सुदूरपश्चिमका युवा परिस्थिति र बाध्यताले रोजगारीका लागि भारततिर लागिरहेका छन् ।

उनीहरुलाई चुनावभन्दा भोकको चिन्ता छ । सीमा क्षेत्रमा भारत जाने युवाको लस्कर देख्न सकिन्छ । दशैं र तिहार मान्न भारतबाट घर फर्किएका युवा अहिले धामाधम भारत फर्किइरहेका छन् ।

कैलालीको त्रिनगर गौरीफन्टा नाका हुँदै हरेक दिन ५ सय भन्दा बढी युवा रोजगारीका लागि भारतका विभिन्न शहर गइरहेका छन् । चुनावका लागि सीमा नाका बन्द हुने भएकाले त्यसअघि नै उनीहरु सीमा कट्ने ध्याउन्नमा देखिन्छन् ।

सुदूरपश्चिमका युवाका लागि रोजगारीको प्रमुख गन्तव्य नै भारतका विभिन्न शहर हुन् । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का जनक विष्टले तिहारका लागि घर आएको तर मंसिर ४ गते चुनाव छ भन्ने आफूलाई थाहा नभएको बताए । ‘म तिहारमा घर आएको थिएँ, आज फेरि काम गर्न भारतको आन्ध्र प्रदेश जाँदै छु,’ उनले भने, ‘चुनाव कहिले हो त्यो थाहा भएन, घर खर्च चलाउन हामीले विदेश जानै पर्छ।’

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका रूपेश विक पनि सीमा नाकामा भेटिए । स-परिवार भारत जान लागेका उनलाई नेपालमा रोजगारी नभएकाले मुग्लान जानुको विकल्प छैन् । उनी आफ्ना लागि चुनावभन्दा पनि रोजगारी बढी आवश्यक भएको बताउँछन् ।

‘म भारतबाट दसैंमा घर फर्केको थिए, आज सपरिवार भारत जाँदै छौँ । नेपालमा रोजगारी छैन, चुनावमा भोट हाल्न बसेर के हुन्छ ? रोजगारी त मिल्दैन । त्यसैले, पूरै परिवार काम गर्न जान लागेको हो’, रूपेशले भने ।

परिवारसँगै भारत जान लागेका टीकापुर नगरपालिका वडा नम्बर ६ का अमृत चौधरीको पनि समस्या उस्तै छ । उनलाई भोट हाल्ने मन थियो तर घर खर्च धान्न भारत जानै पर्ने बाध्यता छ । ‘यो पटक भोट हाल्ने मन त थियो । तर, उता नगए नोकरी गुम्ने भएकाले आज जान लागेको छु,’ उनले भने, ‘यता काम पाइन्न बाध्यता छ भन्नु पर्‍यो ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का एकेन्द्र भाट घर खर्च चलाउन भारत पसेका छन् । भोट माग्न मात्रै चुनावको बेला नेता गाउँमा आउने अरु बेला समस्या बुझ्न नेता गाउँमा नआउने उनको गुनासो छ । ‘भोट हालेर खान नमिल्ने, भारतको नोकरीको भरमा परिवार पाल्नुपर्ने, नेताहरू चुनावमा मात्रै आउने, अरु बेला समस्या नबुझ्ने भएकाले कसैलाई पनि भोट हाल्ने मन लागेन,’ उनले भने, ‘भोटले खान दिने, काम दिने भए घरमै बस्न हुन्थ्यो ।

गौरीफन्टा नाकाबाट मात्रै होइन कञ्चनपुरको गड्डाचौकीलगायत पहाडी जिल्लाका नाकाबाट पनि कामको खोजीमा युवा भारत जाने गर्छन्। त्रिनगर नाकामा भेटिएका अछामका दीपक बोहराले यसपाली कसैलाई भोट दिन मन नलागेर छिट्टै भारत जान लागेको बताए ।

‘मैले कांग्रेसलाई भोट हालेँ, एमाले र माओवादीलाई पनि भोट हालेँ तर कसैले काम गर्न सकेनन्’ उनले भने, ‘सबैसँग रिस उठेर यो पटक भने कसैलाई भोट नदिने निर्णय गरेर भारत जान लागेको हुँ ।’ यी त केही उदाहरण हुन् । सुदूरपश्चिमका सबै जिल्लाबाट रोजगारीका लागि भारत जाने युवाको लर्को सीमानाकाम देख्न सकिन्छ ।

उम्मेदवारहरूले रोजगारी सिर्जना गर्ने वाचा र भाषण गरे पनि युवाले पत्याएका छैनन् । पत्याउन पनि कसरी ति वाचा कागजमै सीमित भएका छन् । जसका कारण मुलुकको युवा शक्ति बेरोजगारीका कारण भारत तथा तेस्रो मुलुक जान बाध्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved