४० बर्षीय पत्रकार गढ्वी बने आम आदमी पार्टीबाट गुजरातको भावी मुख्यमन्त्री

आप मुख्यमन्त्रीका उम्मेद्वार इसुदान गढ्वी द्धारका विधानसभाबाट लड्दैछन् । यसबारे आप संयोजक केजरिवालले ट्वीट गरेका छन–‘भगवान कृष्णको पवित्रभूमिबाट गुजरातले एक नयाँ र असल मुख्यमन्त्री पाउने छ।’ 

नेपालभ्युज

४० बर्षीय पत्रकार गढ्वी बने आम आदमी पार्टीबाट गुजरातको भावी मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्ली र पञ्जाब प्रदेशमा सरकार चलाईरहेको आम आदमी पार्टी ( आप) ले गुजरात प्रदेशको भावी मुख्यमन्त्रीको उम्मेद्वार घोषणा गरेको छ । ४० बर्षीय पत्रकार इसुदान गड्वी आपको भावी मुख्यमन्त्रीको उम्मेद्वार घोषणा भएका छन् ।

पार्टीका केन्द्रीय संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार भावि मुख्यमन्त्री घोषणा गरेका हुन । गुजरातमा डिसेम्बर १ र ५ तारिख गरि दुई चरणमा विधानसभाका लागि मतदान हुँदैछ । डिसेम्बर ८ का दिन नतिजा प्रकाशन हुने कार्यतालिका त्यहाँको निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

गुजरात प्रधानमन्त्री नरेन्द्र मोदीका गृहप्रदेश हो । त्यहाँ २७ बर्षदेखि निरन्तर भारतीय जनता पार्टीको सरकार छ । मोदी प्रधानमन्त्री हुनु अघि दुई कार्यकाल गुजरातको मुख्यमन्त्री भएका थिए । उनले त्यो बेला गरेका कामलाई ‘गुजरात मोडेल’ का रुपमा चर्चा गरिएको थियो । ‘गुजरात मोडेल’ ले मोदीलाई प्रधानमन्त्री बन्न निक्कै ठूलो मद्धत गरेको थियो ।

यही बर्षको फेब्रुअरीमा भएको पञ्जाब विधानसभाको निर्वाचनमा पनि आपले मुख्यमन्त्रीको उम्मेद्वार घोषणा गरेर चुनाव लडेको थियो । बर्तमान मुख्यमन्त्री भगबन्त मान चुनाव अघि नै मुख्यमन्त्रीको उम्मेद्वार घोषणा भएका थिए ।

भरखरै सम्पन्न हिमाञ्चल प्रदेशको चुनावमा भने आपले मुख्यमन्त्रीको उम्मेद्वार घोषणा गरेको थिएन तर विधानसभाका ६८ सीटमै उम्मेद्वारी दिएको थियो । हिमाञ्चल विधानसभाको नतिजा आउन बाँकी छ ।

गुजरातमा भने आपले भावी मुख्यमन्त्री घोषणा गरेरै चुनाव लड्ने भएको छ । आप मुख्यमन्त्रीका उम्मेद्वार इसुदान गढ्वी द्धारका विधानसभाबाट लड्दैछन् । यसबारे आप संयोजक केजरिवालले ट्वीट गरेका छन–‘भगवान कृष्णको पवित्रभूमिबाट गुजरातले एक नयाँ र असल मुख्यमन्त्री पाउने छ।’

गुजरातमा आपको बढ्दो प्रभावलाई सबैले उत्सुकतापूर्वक हेरी रहेका छन् । विश्लेषकका अनुसार यसपटकको गुजरात विधानसभा निर्वाचनमा भाजपा, कांग्रेस र आप बीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने सम्भावना छ ।

भावी मुख्यमन्त्री घोषणा भएका गढ्वी आपका राष्ट्रिय संयुक्त महासचिव हुन् । उनी २ बर्ष अघि मात्र आपको सक्रिय राजनीतिमा आएका थिए । त्यस अघि उनी टिभी पत्रकार थिए । पत्रकार हुँदा उनले केही ठूला भ्रष्टाचार काण्डको पर्दाफास गरेका थिए ।

अर्कोतिर सत्तारुढ दल भाजपाले आफ्ना उम्मेद्वारको सुची सार्वजनिक गरेको छ तर, भावी मुख्यमन्त्री घोषणा गरेको छैन । मुख्यमन्त्री भूपेन्द्र पटेल फेरि विधानसभा सदस्यको उम्मेदवार हुने भएका छन् ।

प्रदेशको विपक्षी दल कांग्रेसले पनि भावी मुख्यमन्त्रीको घोषणा गरेको छैन । कांग्रेसका मुख्य नेता राहुल गान्धी अहिले ‘भारत जोडो यात्रा’ मा छन । कांग्रेसको चुनावी अभियान नवनिर्वाचित पार्टी अध्यक्ष मल्लिाकार्जुन खड्गे र महासचिव प्रियांका गान्धीले सम्हालिरहेका छन् ।

करिब ३ दशक लामो एकछत्र शासनका बाबजुद गुजरातमा भाजपा बलियो पार्टी मान्छिन । साथै, यो प्रधानमन्त्री मोदीका लागि प्रतिष्ठासँग जोडिएको चुनाव समेत हुनेछ ।
पञ्जाब चुनावमा भावी मुख्यमन्त्री घोषणा गरेर मैदानमा जाँदा आपको पक्षमा जनलहर आएजस्तो गुजरातमा पनि हुने हो कि भन्ने जिज्ञासा धेरैमा छ ।

हिमाञ्चल प्रदेशका बारेमा पनि त्यस्तै चर्चा चलेको थियो तर प्रदेश पार्टी इन्चार्ज तथा दिल्लीका मुख्यमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार मुद्धामा सिबिआईद्धारा प्रक्राउ गरिएपछि आपको हिमाञ्चल चुनावी अभियान सोचेभन्दा शिथिल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved