विवेकशील साझाको घोषणापत्र सार्वजनिक

नेपालभ्युज

विवेकशील साझाको घोषणापत्र सार्वजनिक

काठमाडौं ।   विवेकशील साझा पार्टीले  आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।  पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

प्रतिबद्धतामा जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गर्ने, निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न सम्पत्ति शुद्धीकरण विभाग बनाउने विषय पनि समेटिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

१३ बुँदामा समेटिएको २ पन्ने प्रतिबद्धतामा राइट टु रिकल र राइट टु रिजेक्टसम्मका विषय समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष समिक्षा बाँस्कोटाले  पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।

चुनावी प्रतिबद्धता : २०७९

१. शिक्षा: जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गर्ने ।
– दुर्गमका विद्यालयलाई मर्जर गरि अधिकांश विद्यालयलाई बुढानिलकण्ठ शैलिमा पढाउने व्यवस्था गर्नेछौँ । उक्त विद्यालयमा न्युन आय भएका, सिमान्तकृत र महिलालाई अध्ययनकालागि विशेष व्यवस्था गर्नेछौँ ।
– विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, स्थानीय सरकार, सेना, प्रहरी, सरकारी कर्मचारी लगायतको एक संयन्त्र बनाई उच्च माध्यमिक वा स्नातक अध्ययन गर्ने विद्यार्थीले कम्तिमा एक बर्ष आफ्नो अध्ययनको क्षेत्रमा अनिवार्य ईन्टर्न वा सेवा गर्नुपर्ने व्यवस्था गर्नेछौँ ।
– नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्नेछौँ ।
– त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्नेछौँ ।
– निजी विद्यालयहरुले दुर्गमका सरकारी विद्यालयको स्तरोन्नति र बालविकासमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नेछौँ ।
– पुस्तान्तरणलाई मजबुत बनाउन ज्येष्ठ नागरिकहरुलाई नजिकैका विद्यालयमा सीप, कला, संस्कृति लगायतका बिषयमा अध्यापन गराउने व्यवस्था गर्नेछौँ ।

२. स्वास्थ्य : गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा ।
– देशभर स्वास्थ्य बिमा अनिवार्य लागु गर्नेछौँ ।
– हरेक जिल्लामा जनरल फिजिसियन (जी.पी) को दरबन्दी अनिवार्य गर्नेछौँ ।
– राज्यको लगानीमा स्वदेश वा विदेशमा अध्ययन गरेका कर्मचारी वा विशेषज्ञले अनिवार्य स्वदेशमा रहेर सेवा गर्नु पर्ने र यदि नगरेमा कानुनी कारवाही गर्ने व्यवस्थालाई परिमार्जन सहित प्रभावकारीरुपमा लागु गर्नेछौँ ।
– नीजी अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत दुर्गमका स्वास्थ्य संस्थालाई अनिवार्य सहयोग गर्नुपर्ने व्यवस्था गर्नेछौँ ।

३. आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बा: प्रविधि, जलविद्युत्, कृषि र पर्यटन ९त्ज्ब्त्०
– फलफूल, तरकारी, खाद्यान्न र पशुमा आत्मनिर्भर, जडिबुटी÷चियामा निर्यातमुखि कृषि व्यवस्था लागु गर्दै आधुनिक कृषि प्रणालीका माध्ययमबाट रोजगारी बढाउन कदम चाल्ने छौँ ।
– हाल बन्द रहेका उद्योगहरुमा कारागारहरु स्थानान्तरण गरि बन्दीहरुलाई सहज बासको व्यवस्था गर्ने, कैदी बन्दीले सोही उद्योगमा काम गरी देशको उत्पादकत्व बढाउने नीति बनाउने छौँ ।
– सहकारीको मुल्य मान्यतालाई सम्बर्धन गर्दै नीजी क्षेत्रसँग गुणस्तर, मुल्य र आपुर्तीमा स्वस्थ प्रतिष्पर्धात्मक अभ्यासबाट आम नागरिकलाई सेवा दिने व्यवस्था गर्नेर्छौँ ।
– बिद्युत र ग्रिन हाईड्रोजन स्वदेशमा खपत तथा निर्यात गर्ने नीति तर्जुमा गर्नेछौँ ।
– कार्बन उत्सर्जन गर्ने मुलुकबाट अनिवार्य क्षतिपुर्ति पाउने व्यवस्थालाई बलियो बनाउने छौँ ।
– सार्वजनिक यातायातलाई सहकारी संस्थाहरुको समेत सहभागितामा सार्वजनिक नीजी साझेदारी नीति अन्तर्गत संचालन गर्ने व्यवस्था गर्नेछौँ । विद्युतिय यातायातका लगानीकर्तालाई विशेष सुविधा सहितका व्यवस्था गर्नेछौँ ।

४. भ्रष्टाचार नियन्त्रण र सुशासन:
– भ्र्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धि राज्य संचालनको पहिलो प्राथमिकता हुनेछ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति लागु गर्नेछौँ ।
– उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारबाही गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नेछौँ ।
– सम्पत्ति शुद्धिकरण विभागलाई स्वायत्त र अधिकारसम्पन्न बनाउनेछौँ ।

५. न्यायालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत राज्यका विभिन्न अंग तथा निकायमा भईरहेको राजनीतिक भागबन्डाको अन्त्य गर्दै योग्यता, क्षमता र ईमान्दारिताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारीको नियुक्ति गर्ने व्यवस्था गर्नेछौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन आवश्यक पुर्नसंरचना गर्नेछौँ ।

६. नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्दै विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नेछौँ ।
७. सरकारी वेतनधारीहरुको “दलिय” पेशागत संगठन खारेज गर्नेछौँ ।
८. राईट टु रीकल र राईट टु रीजेक्टको व्यवस्था सुनिश्चित गर्नेछौँ ।

९. अनावश्यक सार्वजनिक खर्च कटौति गर्न राजनैतिक भर्तिकेन्दमा सिमित सरकारी निकायलाई खारेज गर्नेछौँ ।
१०. संवैधानिक आयोगहरुमा नियुक्तिकालागि तोकिएको ४५ बर्षे उमेर हद घटाएर युवामैत्री बनाउने छौँ ।
११. न्युन आय भएका नागरिकलाई परिचय पत्र प्रदान गरी आवास, खाद्यान्न र सार्वजनिक यातायातमा विषेश व्यवस्था सुनिश्चित गर्नेछौँ ।

१२. असंलग्न परराष्ट्र नीति र सन्तुलित विदेश नीति :
– दुई छिमेकी मुलुक भारत र चीनसँग समनीकटताको सम्बन्ध राखि संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण विदेश नीति अवलम्बन गर्दै उनीहरुको तिव्र आर्थिक विकासबाट अधिकतम लाभ लिने नीति लिनेछौँ ।

१३. वातावरण तथा सम्पदा संरक्षणः
– वातावरण तथा सम्पदा संरक्षणमा दिगो, सन्तुलित र वातावरणमैत्री विकासको मौलिक मोडल तयार गर्नेछौँ ।
– विकासका नाममा ध्वंशात्मक तवरले रमणीय डाँडाकाँडा भत्काउने, पानीका मुहान सुकाउने, नदीनाला दुषित बनाउने, वन जंगल ध्वस्त पार्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्यमा रोक लगाउने छौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved