कर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई आफ्नै बागीको डर

माओवादीको केन्द्रीय लेखा आयोगका सदस्य रहेका काशीचन्द बरालले बागी उम्मेदवारी दिएर शाहीलाई अप्ठेरोमा पारेका छन् । बराल रास्कोट नगरपालिकाका निवर्तमान मेयर हुन् । तर सत्ता गठबन्धन भने बागीले फरक नपर्ने दाबी गरिरहेको छ ।

कर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई आफ्नै बागीको डर

सुर्खेत । कालीकोटबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका माओवादी केन्द्रका नेता एवं पूर्वमुख्यमन्न्त्री महेन्द्रबहादुर शाहीलाई अहिले प्रतिपक्षको भन्दा आफ्नै दलको डर र चिन्ता छ । गठबन्धनबाट उम्मेदवार बनेका शाहीलाई  माओवादी केन्द्रकै काशीचन्द्र बरालले चुनौती दिइरहेका छन् ।

कालीकोटमा २०६४ सालदेखि नै माओवादी केन्द्र विजय हुँदै आएको छ । २०६४ सालमा खड्कबहादुर विक, २०७० सालमा महेन्द्रबहादुर शाही र २०७४ सालमा दुर्गबहादुर रावत यहाँबाट विजयी भए । २०७४ सालको निर्वाचनमा मुख्यमन्त्रीका लागि शाहीले प्रदेश रोजे । तर, अहिले फेरि प्रतिनिधिसभामा फर्केका छन् ।

उनलाई अहिले एमालेका नगिन्द्र शाही ‘नेसनल’ मुख्य प्रतिस्पर्धी छन् । कांग्रेस बीपीबाट पंखबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र रुपमा उठेका कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको चुनौती पनि छ । तर यि चुनौतीबाट पार पाउन उनलाई चाहिएको पार्टीको आन्तरिक एकता भने छैन ।

माओवादीको केन्द्रीय लेखा आयोगका सदस्य रहेका काशीचन्द बरालले बागी उम्मेदवारी दिएर शाहीलाई अप्ठेरोमा पारेका छन् ।

जिल्लामा २०४८ सालमा नेपाली कांग्रेसका तिलकप्रसाद न्यौपाने विजयी भएका थिए । २०५१ मा एमालेका प्रेमबहादुर सिंह र २०५६ मा एमालेकै यज्ञराज न्यौपाने विजयी भए । त्यसपछिका निर्वाचनमा नेपाली कांग्रेस र एमालेका लागि सहज हुन सकेको छैन । माओवादीले एकलौटी रूपमा जित निकाल्ने गरेको छ । यसपटक भने शाहीलाई बरालका कारण समस्या हुनसक्ने सम्भावना छ ।

शाहीलाई चुनौती दिने बराल को हुन् ? 

पूर्वमुख्यमन्त्री शाहीलाई चुनौती दिइरहेका बराल रास्कोट नगरपालिकाका निवर्तमान मेयर हुन् । २०५४ मा एमालेबाट फुकोट गाविसको अध्यक्षमा निर्विरोध भएका उनी पछि माओवादीमा लागेका थिए । त्यसपछि भूमिगत नै रहेर युद्ध लडे । २०७४ को स्थानीय तह चुनावमा उनी रास्कोट नगरपालिकाको मेयरमा निर्वाचित भए ।

जिल्लामा सबैभन्दा बढी सदस्य रहेको हिमचुली कृषि सहकारी संंस्थाका उनी संस्थापकसमेत हुन् । बराल पूर्व पत्रकार पनि हुन् । पार्टी नेतृत्वको व्यक्तिवादी पेलुवा तानाशाही प्रवृत्तिविरुद्ध आफूले उम्मेदवारी दिएको बरालले बताए । ‘पार्टीले बेवास्ता गरेका, सधैं अवसरबाट वञ्चित भुइँमान्छेको म सच्चा प्रतिनिधि हुँ ।’ उनले भने, ‘पूर्वाधार विकास, युवा स्वरोजगार लगायतमा काम गरेर देखाइसकेको छु ।’

यस्तो छ अंकगणित

कालीकोट जिल्लामा नौ वटा स्थानीय तह र तिनका ८२ वटा वडा छन् । गत स्थानीय तहको चुनावमा माओवादी केन्द्रले ४९ वटा वडामा जित हासिल गरेको थियो । नौ स्थानीय तहमध्ये माओवादीले शुभकालिका, महावै, पलाँता र पचालझरना गाउँपालिका तथा रास्कोट नगरपालिका जितेको थियो । सान्त्री त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्रबाट विजयी भएका महेश केसी पनि माओवादी केन्द्रमा नै लागेका छन् ।

तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेस तथा खाँडाचक्र नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको छ । एमालेले केही वडामा मात्रै जित्न सक्यो । त्यसैले जिल्लामा माओवादी नै सबैभन्दा ठूलो दल हो । दोस्रोमा कांग्रेस र एमाले तेस्रो छ ।

पालिका प्रमुखले पाएको मतअनुसार सत्ता गठबन्धनसँग करिब ३२ हजार मत छ । एमालेको आधा भन्दा पनि कम १५ हजार जति मात्रै छ ।

२०७४ सालको निर्वाचनमा एमालेको समेत साथ पाएका माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत ल्याएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत पाएका थिए ।

गठबन्धनको दाबी, ‘बागीले फरक पर्दैन’ 

सत्तारुढ गठबन्धन दलबाट प्रतिनिधिसभामा शाहीसँगै प्रदेशसभा ‘क’ मा प्रतिनिधिसभाका निवर्तमान सदस्य माओवादीका दुर्गबहादुर रावत र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट उम्मेदवार छन् ।

प्रदेशसभा ‘क’ मा एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही मैदानमा छन् । प्रदेशसभा ‘ख’ मा एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस बीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम उम्मेदवार छन् । स्वतन्त्रबाट पूर्वमाओवादी लक्ष्मणबहादुर बमले उम्मेदवारी दिएका छन् ।

गठबन्धन दलभित्रबाट प्रतिनिधिसभामा बराल मात्रै हैन प्रदेशसभामा पनि पूर्व माओवादी र एकीकृत समाजवादीका दुई बमले चुनौती दिइरहेका छन् । तर, यस्तो उम्मेदवारीले कुनै फरक नपर्ने माओवादीको दाबी छ । माओवादीको संगठन बलियो रहेको तथा  गठबन्धन दलको साथ रहेकाले आफूहरू सहजै  विजयी हुने बताउँछन् माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईं ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाही पनि बागी उम्मेदवारले केही असर नगर्ने दाबी गर्छन् । जिल्लाको पहिलो र दोस्रो दल मिलेका कारण पूर्व मुख्यमन्त्री शाही चुनाव जित्नेमा ढुक्क देखिन्छन् । तर, बराल पनि जिल्लामा चर्चित व्यक्ति भएकाले उनलाई डर भने छ । बागीमा मत बाँडिने भएकाले आफूहरूको सम्भावना हुने एमालेका नेताहरू बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved