कर्णाली । विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए, नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल निर्वाचनमा शाक्यलाई पराजित गर्दै कँडेल वीरेन्द्रनगरको प्रमुख पदमा विजयी भए।
तीन दशकअघि प्रतिस्पर्धा गरेका शाक्य र कँडेल मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पुनः आमनेसामने भएका छन् । सुर्खेत क्षेत्र नं २ प्रदेशसभा (क) बाट आइतबार उम्मेदवारी मनोनयन गर्नुभएका कांग्रेसका शाक्यलाई सत्तारूढ गठबन्धनअन्तर्गतका नेकपा (एकीकृत समाजवादी) बाहेकका दलको समर्थन छ भने एमालेका कँडेललाई आफ्नै पार्टीको मात्र । कँडेल–शाक्यसँगै उक्त पदमा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
एमाले नेता कँडेल मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका थिए। तत्कालीन बाम गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गर्दै उनि विजयी भएका थिए ।
यसपटक पनि प्रदेशसभामा दोहोरिन खोजेका कँडेललाई चुनौतीको भारी बनेका छन्, गठबन्धनका शाक्य । गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्य बताउछन । ‘मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी पङ्क्ति र गठबन्धन उत्साही छ’, उनले भने,’सङ्गठन मजबुत र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।’
कांग्रेसका पूर्वजिल्ला उपसभापति, पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका शाक्य जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । तर पराजित भए । एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्य छन् । विसं २०५१ मध्यावधि र २०७४ को संविधानसभा निर्वाचनमा विजयी बने भने २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचनमा कांगेस हृदयराम थानीसँग पराजित भए ।
विद्यार्थी राजनीतिदेखि नै थानी–कँडेलको प्रतिस्पर्धामा भने विसं २०७४ देखि विश्राम लागेको छ । त्यसयता कँडेल प्रदेशसभा र थानी प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दै आएका छन् । एमाले उम्मेदवार कँडेलले प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनः प्रदेशसभाकै उम्मेदवार बनेको बताउँदै भन्छन्, ‘केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो ।’
Facebook Comment
Comment