कोरोना बीमाको भुक्तानी छिट्टै, सरकारले समितिलाई दियो एक अर्ब रुपैयाँ

अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपैयाँ आफ्नो खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।

नेपालभ्युज

कोरोना बीमाको भुक्तानी छिट्टै, सरकारले समितिलाई दियो एक अर्ब रुपैयाँ

काठमाडौं।  लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको भुक्तानी सुरु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपैयाँ खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।

समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताए।

कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्नेबारेमा सोमबार अर्थ मन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थ मन्त्रालयबीच छलफलपछि मात्रै निर्णय हुने उनको भनाइ छ ।

भुक्तानी गर्न बाँकी ११ अर्ब

कोरोना बीमा गर्नेको सङ्ख्या १७ लाख ५८ हजार ३४३ रहेको छ भने बीमालेखबाटै एक अर्ब पाँच करोड पाँच लाख बीमाशुल्क सङ्कलन भएको थियो । यीमध्ये एक लाख ६५ हजार ५५९ जनाको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये चार अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

सरकारका तर्फबाट तिर्न बाँकी १० अर्ब ५२ करोड रुपैयाँ छ । बीमालेखबाट उठेको शुल्कभन्दा तिर्नुपर्ने दायित्व भने १० गुणा बढी छ । सरकारले तिर्नुपर्ने दायित्व ११ अर्ब रुपैयाँ पुगेको हो ।

कोरोना बीमा मापदण्डअनुसार बीमा कम्पनीहरूले एक अर्ब रुपियाँसम्मको दायित्व, सोभन्दा बढी रकमको दायित्व एक अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ ।

यस्तै दुई अर्ब रुपियाँभन्दा बढी दाबी परेमा ५० करोड रुपियाँ बीमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी हुने व्यवस्था मापदण्डले गरेको थियो । त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपियाँसम्म समितिले भुक्तानी गर्ने सहमति भएको थियो ।

त्यस्तै तीन अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लामो समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा समग्र बीमा व्यवसायप्रति नै सर्वसाधारणमा नकरात्मक सन्देश जान थालेको थियो ।

बीमालेख र बीमा समितिकै सर्कुलरमा उल्लेख भएबमोजिम हजारौँ बीमितले दाबी भुक्तानी नपाउँदा यसको असर बीमा व्यवसायमा देखिन थालेको थियो ।

 -गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved