भारतीय कांग्रेसको नेतृत्वबाट गान्धी परिवार बाहिरिने निश्चित, खड्गे र थरुरबीच प्रतिस्पर्धा

नेपालभ्युज

भारतीय कांग्रेसको नेतृत्वबाट गान्धी परिवार बाहिरिने निश्चित, खड्गे र थरुरबीच प्रतिस्पर्धा

नेपाल भ्युुज । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि नामांकन दर्ता गर्ने समय शुक्रबार ३ बजे समाप्त भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार अध्यक्षका लागि तीन वटा आवेदन दर्ता भएका छन। मल्लिकार्जुन खड्गे, शशि थरुर र केएन त्रिपाठीले नामांकन दर्ता गरेका हुन् ।

यी मध्ये गान्धी परिवारको समर्थन मल्लिकार्जुन खड्गेलाई रहने बुझिएको छ । अद्यपि पार्टी अध्यक्ष सोनिया गान्धीले निर्वाचन निष्पक्ष हुने र आफू तटस्थ बस्ने बताउँदै आएकी छन्। करिब १ महिना अघिदेखि गान्धी परिवारको समर्थनमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत उम्मेद्वार हुने चर्चा थियो । तर, अन्तिम क्षणमा आएर गहलोत आफैले गान्धी परिवारको इच्छालाई अस्वीकार गरे ।

अशोक गहलोत पछि हटेपछि बिहीबार बिहान गान्धी परिवार समर्थक उम्मेद्वारका रुपमा दिग्विजय सिंह चर्चामा आएका थिए । उनले आफूले कांग्रेस अध्यक्ष पदमा उम्मेद्वारी दिने सम्भावना रहेको बताएका थिए । सिंह मध्यप्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।

बिहिबार साँझसम्म फेरि पाशा पल्टियो । एकाएक माल्लिकार्जुन खड्गे गान्धी परिवार समर्थक उम्मेद्वार बन्ने समाचार आयो । प्रियंका गान्धी उम्मेदवार बन्ने बिषयमा पनि लामो छलफल चलेको थियो । तर, ‘भारत जोडो’ यात्रामा कर्नाटक पुगेका राहुल गान्धीले फोनमार्फत् अस्वीकार गरेका थिए ।

राहुलले यसपटक गान्धी परिवार बाहिरकै व्यक्ति पार्टी अध्यक्ष होस भन्ने आफूले चाहेको बताएका थिए । तसर्थ प्रियंका गान्धीको उम्मेदवारी रोकिएको थियो । खड्गे अहिले कर्नाटकबाट राज्यसभा सदस्य तथा राज्यसभामा विपक्षी दलका नेता हुन् । ७५ बर्षिया खड्गे सन् २०१४–२०१९ मा लोकसभामा विपक्षी दलको नेता थिए । मनमोहन सिंह नेतृत्वको सरकारमा उनी मन्त्री बनेका थिए ।

गान्धी परिवारवृत्त  बाहिरबाट भने शशि थरुरले पहिले नै आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए । थरुर केरल तिरुवनन्तपुरमका सांसद हुन । उनी मनमोहन सिंह सरकारमा मानव सांसाधन विकास मन्त्री थिए। थरुर बौद्धिक नेताका रुपमा परिचित छन् । ६६ बर्षीय थरुरले दर्जन भन्दा बढी किताब लेखेका छन् ।

तेस्रा उम्मेद्वार केएन त्रिपाठी भने झरखण्डका कांग्रेस कार्यकर्ता हुन् । उम्मेद्वारी दिए पनि उनलाई प्रतिस्पर्धी मानिएको छैन ।

सन् २००१ यता कांग्रेस अध्यक्षको चुनाव हुन लागेको यो पहिलो पटक हो । सन् २००१ मा सोनिया गान्धी उम्मेद्वार थिइन । उनले ७४४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी उम्मेद्वार जीतेन्द्र प्रसादले जम्मा ९४ मत पाएका थिए । त्यस यता गान्धी परिवारलाई कसैले चुनौति दिएको थिएन ।

पछिल्लो पटक सन् १९९७ मा गान्धी परिवार बाहिरका सीताराम केसरी कांग्रेस अध्यक्ष चुनिएका थिए । यसपटक तीन वटै उम्मेद्वार गान्धी परिवार बाहिरका छन् । त्यसैले फेरि एकपटक गान्धी परिवार बाहिरबाट कांग्रेस अध्यक्ष निर्वाचित हुने निश्चित भएको छ ।

उमेर र स्वास्थ्यको कारण सोनिया गान्धी कार्यकाल लम्ब्याउन अनिच्छुक थिइन । गान्धी परिवारबाट स्वभाविक दाबेदार राहुल गान्धीलाई मानिएको थियो । तर, राहुल पनि अध्यक्ष बन्न अनिच्छुक देखिए । कांग्रेस अध्यक्षको निर्वाचनमा देशभरिका ९,१०० पार्टी प्रतिनिधिले मतदान गर्ने बताइको छ । अक्टोबर १७ मा मतदान र १९ गते नतिजा प्रकाशित हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved