साफ महिला च्याम्पियनसिप फुटबल

नेपाल भर्सेज बंगलादेश : नेपाली प्रशिक्षक भन्छन् ‘समर्थकबाट ऊर्जा, हामीबाट ट्रफी’

नेपालभ्युज

नेपाल भर्सेज बंगलादेश : नेपाली प्रशिक्षक भन्छन् ‘समर्थकबाट ऊर्जा, हामीबाट ट्रफी’

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले साफ च्याम्पियनसिपको फाइनलमा समर्थकबाट ऊर्जा लिएर राष्ट्रलाई ट्रफी उपहार दिने बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले उपाधि घरमै राख्ने उदेश्य व्यक्त गरे ।

‘यो इतिहास रच्ने क्षण हो । आगामी दुई वर्षको लागि उपाधि नेपालमै राख्न चाहन्छौँ ।’, प्रशिक्षक थापाले आत्मविश्वासका साथ भने । नेपाली टोलीको मनोबल उच्च रहेको तथा फाइनलको वातावरणमा रमाउने अपेक्षा भएको उनले बताए । नेपाली टोलीको अनुभव र ऊर्जालाई सही तरिकाले प्रयोग गर्ने थापाको योजना छ ।

सुन्दर खेल प्रदर्शन गर्दै आइरहेकाले बङ्गलादेशको महिला टोलीप्रति आफ्नो सम्मान भए पनि ट्रफीमा नेपालको नै नाम लेखाउनुपर्नेमा उनले जोड दिए । उनले फरवार्ड सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनको मेडिकल रिर्पोट राम्रो आए फाइनल खेल्ने सम्भावना रहेको पनि बताए ।

‘भारतविरुद्धको खेलमा जसरी अन्त्य सम्म लडेको थियौँ । फाइनलमा पनि त्यस्तै प्रदर्शन देखाउने छौँ ।’, नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन् ।

नेपाली खेलाडी मानसिक र शारीरिक रुपमा तयार रहेको भन्दै उनले ‘हामी सक्छौँ, हामी गर्छौँ’ भन्ने उद्देश्यले अघि बढेको पनि बताइन् ।

नकआउट चरणमा नै पहिलो पटक भारतलाई पराजित गरेको नेपाल पहिलो पटक उपाधी जित्ने योजनामा छ । केही अनुभवी खेलाडीले प्रतियोगितापछि सन्यास लिने सम्भावना रहेकोले पनि यो फाइनल महत्त्वपूर्ण रहेको प्रशिक्षक थापाले बताए ।

बङ्गलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटनले आफ्नो टोली मानसिक र शारीरिक रूपमा फाइनल खेल्न तयार रहेको बताए । ‘विगतको ४ प्रदर्शनसँग म खुसी छु । फाइनल प्रतिस्पर्धात्मक हुनेछ । नेपाल रणनैतिक, शारिरीक र प्राविधिक रूपले पनि बलियो टोली हो ।’ उनले भने । उनले नेपाली टोलीका सावित्रा भण्डारी, प्रीति राई, सरु लिम्बू र दीपा शाहीको क्षमताको पनि प्रशंसा गरे ।

फाइनलमा १५ हजार दर्शकको उपस्थिति हुनसक्ने अनुमान गर्दै उनले यस्तो वातावरणमा नेपाली टोलीको मनोबल उच्च हुने पनि बताए । यद्यपि, विगतमा बङ्गलादेशको महिला टोलीले ताजिकिस्तान, म्यानमार र भुटानको गृह मैदानमा पाएको जितको अनुभवलाई दोहोर्‍याउने उनले आत्मविश्वास देखाए ।

‘हाम्रो टोली तयार छ । हामी केवल राम्रो फुटबल खेल्नेमा ध्यान दिनेछौँ ।’ बङ्गलादेशकी कप्तान सबिना खातुनले बताइन् ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता थपिन लागेकाले पनि यसपटकको फाइनल महत्वपुर्ण छ । सन् २०१० देखि आयोजना भएको महिला साफ च्याम्यिनसिपमा भारत पहिलोपटक फाइनल पुग्न असफल भएको छ ।

प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेश सोमबार बेलुका साढे ५ बजे दशरथ रंगशालामा भिड्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved