गठबन्धन बैठक: बाहिर लचिलो भित्र कसिलो

गठबन्धन बैठक: बाहिर लचिलो भित्र कसिलो

काठमाडौं। सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय झनै पेचिलो बन्दै गएको छ । मंसिर चारमा हुने संघ र प्रदेश निर्वाचनमा सिट बाँडफाँट गर्न कार्यदल नै गठन गरेर छलफल गरिरेको गठबन्धनले अहिलेसम्म भागबन्डा टुङ्गो लगाउन सकेको छैन ।

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला नेतृत्वमा बनेको सिट बाँटफाँड कार्यदलले साउन २० गतेदेखि विभिन्न कोणबाट छलफल गरिरहेको छ । एक महिनाभन्दा बढी समय लगाएर १९ वटा बैठक गरेको कार्यदलले सहमति जुटाउन नसकेपछि सिट बाँडफाँटको जिम्मेवारी शीर्ष नेतालाई नै दिएको छ । भदौ २६ गतेबाट शीष तहमा छलफल भए पनि अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।

प्रतिनिधिसभातर्फको एक सय ६५ सिट मध्य सय सिटमा कार्यदमै सहमति जुटेको छ भने बाँकी ६५ सिटमा सहमति जुटाउन सकस परेको हो । ६५ सिटमा कतै दोहोरो त कतै तेहेरो दाबी परेपछि शीर्ष नेतालाई टाउको दुखाइ बनेको छ । निर्वाचन आयोगको कार्यतालिकाका कारण दलहरू बाँडफाँड चाँडो टुंग्याउनुपर्ने दबाबमा छन् ।

आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन २ र ३ असोजको समय निर्धारण गरेकाले अहिले गठबनधनको बैठक स्थगित गरेर समानुपातिकको उम्मेदवार तय गर्दैछन् ।

असोज चार गते मात्र गठबन्धनमा छलफल हुने राष्ट्रिय जनमोर्चाबाट कार्यदल सदस्य रहेका हिमलाल पुरीले बताए । उनले भने ‘हामी सहमति नजिक छौँ करिब करिब सहमति भइसकेको छ अब असोज ४ गतेपछि फेरि छलफल गछौँ’

दलहरुले हैसियतभन्दा बढी दाबी गर्नाले गाँठो पर्‍यो
गठबन्धनको गाँठो फुकाउन दलहरूले मेहेनेत गरिरहेका छन् । तर, दलहरू आफ्नो अडानबाट पछि नहट्दा समस्या भएको कार्यदलका सदस्यहरूले बताएका छन् ।

३९ दिसम्म सहमति जुटाउन नसकेका दलहरूले कसरी व्यवस्थापन गर्लान् भन्ने सबैको चासो छ । आ–आफ्नो दाबी छाडेर समहति गर्नुपर्ने पुरीले बताए ‘सबै दल आ आफ्नो अडानबाट पछि हटेर सहमति गर्नुपर्छ ,हामी जुन उद्देश्यले मिलेका छौँ त्यो भुल्नु हुँदैन, दलीय स्वार्थबाट माथि उठ्न जरुरी छ, यो गाँठो सबै मिलेर फुकाउनुपर्छ ’ यस्तै गठबन्धनमा नेकपा एककिृत समाजवादीबाट सदस्य रहेका प्रमेश हमालले पनि हैसियतभन्दा बढी सिट दाबी गर्दा समस्या भएको स्वीकार गरेका छन् ।

उनले भने ‘हामी हाम्रो दाबी बाट पछाडि हटेका छैनौँ उहाँहरू पनि आफ्नो दाबी छोड्ने पक्षमा हुनुहुन्न त्यसैले सहमतिको गाँठो फुक्न नसकेको हो एक/दुई कुरा मिल्नासाथ सबै समस्या समाधान हुनछ हामी तयो गाँठो फुकाउने कसरतमा छौँ ’ एक सय ६५ सिटमा कांग्रेसले सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरका छन् । एक सय सिटमा कुरा मिले पनि बाँकी ६५ सिटमा कतै दोहोरो त कति तेहोरो दाबी परेकाले समस्या देखिएको नेताहरूले बताएका छन् ।

जनमोर्चा बाहेकका दललाई मात्र समस्या
दोहोरो तेहोरो दाबी भइरहँदा राष्ट्रिजनमोर्चाको दाबी भने लगभग निश्चित भइसकेको छ । जनमोर्चाले दाबी गरेका बाग्लुङ क्षेत्र नम्वर एक र प्युठानमा सहमति जुटेपछि उल्झनको भुमरीबाट जनमोर्चा बाहिरिएको छ । अब बाँकी चार दलमा समस्या देखिएको हो ।

कांग्रेस र माओवादीको सत्ता मोह
कार्यदलका एक सदस्यले कांग्रेस र माओवादीको सत्ता स्वार्थका कारण भागबन्डामा सकस भइरहेको बताएका छन् । सिट भागबन्डाले आगामी संसदमा दलहरुको हैसियत तय गर्ने भएकाले दलहरू अडानबाट टसमस नभएको उनको भनाइ छ ।

नाम नखुलाउने सर्तमा उनले दलहरूले पार्टीगत र व्यक्तिगत स्वार्थ त्यागे सहमति हुन समय नलाग्ने बताए । कांग्रेसले सबैभन्दा बढी सिट जितेर केही साना समूहलाई लिएर सरकार बनाउने दाउमा रहेको छ भने माओवादी केन्द्रपनि बढीभन्दा बढी सिट लिने योजनामा छ यता नेकपा एस पनि बढी सिट लिएर माओवादीसँग पार्टी एकता गर्ने रणनीतिमा लागेकाले गठबन्धनमा किचलो देखिएको ती सदस्यको भनाइ छ ।

भनाइ लचिलो व्यवहार कसिलो
त्यसो त कार्यदलको बैठकबाट बाहिरिँदा नेताहरूले सहमतिनजिक पुगेको बताइरहेका हुनछन् । सुरुवातदेखि नै सहमति भयो भन्ने गरेका नेताहरूले सधैँ एउटै कुरा दोहोर्‍याइरहेका छन् ।

धेरै सिट र सुरक्षित क्षेत्र खोज्ने दलहरूको दाउका कारण सहमतिको प्रयास विफल भइरहेको छ । तर नेपाली कांग्रेसबाट कार्यदल सदस्य रहेका ज्ञानेन्द्र बहादुर कार्कीले भने सहमति खोज्न द्विपक्षीय तथा त्रिपक्षीय संवाद भइरहेको दोहोराइरहेका छन् ।

अहिलेको अवस्थामा सहमति गरेर लचिलो हुनुको विकल्प नरहेको उनको भनाइ छ ।  कांग्रेस पार्टी छलफलमा लचिलो नबन्दा बढी समस्या देखिएको गठबन्धनका अरु दलको आरोप छ । मधेसका ३२ सिटमा कांग्रेस र जसपाले धेरै सिट दाबी गरेपछि पनि समस्या देखिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved