विश्व बैंकसँग १३ अर्ब ऋण लिँदै सरकार

नेपालभ्युज

विश्व बैंकसँग १३ अर्ब ऋण लिँदै सरकार

काठमाडौं। सरकारले विश्व बैंकसँग १३ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग लिने भएको छ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड), नयाँ विकास नीति ऋण (डीपीसी) परियोजनका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको हो ।

सोमबार एक कार्यक्रमकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका संचालन प्रबन्धक लाडा स्ट्रेलकोभाले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाललाई हरियाली, जलवायु–उत्थानशिल र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रीड अन्तर्गत तीन सहुलियतपूर्ण ऋण डीपीसीहरूको श्रृंखला मध्येको यो पहिलो हो ।

‘कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक, र विकास साझेदारहरूले महत्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेका छौं’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले भने । यस परियोजना यहि प्रतिवद्धताको एक मुख्य अंश भएको समेत उनले बताए ।

यस परियोजनामार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्ने उनको भनाइ छ । ​यस कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्नुका साथै कार्यक्रमले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने समेत सरकारले अपेक्षा गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved