आगामी आर्थिक वर्षको बजेट १७ खर्बमाथि जानु हुँदैनः पूर्वअर्थमन्त्री पौडेल

नेपालभ्युज

आगामी आर्थिक वर्षको बजेट १७ खर्बमाथि जानु हुँदैनः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्न चिन्ह उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।

शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने बजेट शुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौति रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताए । पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे ।

उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन नहुने सुझाव दिए । उनले बजेट राजश्व,अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । उनले माग बढी भएकाले ठूलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे । पौडेलले सरकारले १७ खर्ब भन्दा माथिको बजेट जान नहुनेमा जोड दिए। उनले आगामी आर्थिक वर्षको बजेट हाम्रो मनोगत आकांक्षामा बजेट बन्न नसक्ने दाबी गरे ।

उनले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गरे । उनले १६ औं योजना, दिगो विकास लक्ष्य,अल्पविकसित मुलुकबाट विकासउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागि भएका राजनीतिक दलहरुको नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा बजेट आउनमा जोड दिए । उनले मुख्यतया बजेट निर्माणको आधार सरकारको नीति तथा कार्यक्रम भएको पनि उल्लेख गरे।

उनले मुलुकको स्रोत,साधन र सम्भावनाहरुको सापेक्षतामा बजेट निर्माण गरिने जानकारी दिए । मानिसहरुका सुन्दर चाहानाहरु बजेट बन्न नसक्ने भन्दै सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको पूर्वअर्थमन्त्री पौडेलले भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved