पहिरोले मेलम्ची-हेलम्बु र बाग्लुङ् बेनी सडक बन्द

नेपालभ्युज

पहिरोले मेलम्ची-हेलम्बु र बाग्लुङ् बेनी सडक बन्द
फाइल तश्वीर

काठमाडौं। शनिबार रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। सतर्कता अपनाउन अनुरोध सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच,  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते भएका थिए ।

पहिराले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ । यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ । हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved