भूमिको सही व्यवस्थापन गर्नसके गरिबी निवारण हुन्छ : मन्त्री श्रेष्ठ

नेपालभ्युज

भूमिको सही व्यवस्थापन गर्नसके गरिबी निवारण हुन्छ : मन्त्री श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको सही व्यवस्थापन गर्नसके गरिबी निवारणमा सहज हुने बताएकी छन ।

आइतबार जग्गा धनी पुर्जा वितरण समारोहमा उनले भूमिको उचित व्यवस्थापनले गरिबी निवारणसँगै रोजगारी सृजना गर्न सकिने बताइन । अहिले सरकार भूमिको समुचित व्यवस्थापन गरेर आर्थिक समृद्धितर्फ लैजान लागिपरेको उनको भनाइ छ ।

भूमी भएर पनि भूमिहीन भएकालाई राज्यले व्यवस्था गर्नुपर्ने संविधान प्रदत्त अधिकार जनतालाई दिइएको उनले बताइन । सुकुम्बासी समस्या समाधान गर्न सरकार लागिरहेको उनको भनाइ छ । मन्त्रालयले अहिले २०४९ साल अघिको किसानको ऋणमोचन गर्न लागि रहेको उनले जानकारी दिइन । सरकारले आगामी दुई वर्षमा भूमिसम्बन्धी समस्या समाधान गर्ने गरी काम गरिरहेको उनले बताइन ।

फरक प्रसङ्गमा उनले संविधानमाथिको खतरा नहटेसम्म गठबन्धन कायम रहने बताइन । अहिलेको सरकार संविधानको रक्षाका लागि बनेको उनको भनाइ छ । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भूमिको व्यवस्थापन भएको ठाउँमा गरिबी निवारण हुने गरेको बताए । भूमी व्यवस्थापनसँगै रोजगारीको सृजना, उद्योग कलकारखाना खुल्ने उनले बताए ।

सो अवसरमा भरतपुर महानगरपालिका–२ मा रहेका एक सय २० जना सुकुम्बासीलाई जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको थियो । उनीहरुलाई आठ धुरका दरले जग्गा धनी प्रमाणपुर्जा प्रदान गरीएको हो । एक सय ३३ जनालाई वितरण गर्ने भनिएकोमा १३ जनाको प्राविधिक कठिनाइका कारण वितरण गर्न नसकिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष, नरेन्द्र खड्का, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेकपा (समाजवादी)का कृष्णराज न्यौपाने लगायतले गरिबी निवारणका लागि भूमिको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved