बिहारको सत्ता राजनीतिमा नाटकीय बद्लावः एक्लिंदै भाजपा

नेपालभ्युज

बिहारको सत्ता राजनीतिमा नाटकीय बद्लावः एक्लिंदै भाजपा

भारत विहार प्रदेश सरकारको सत्ता समीकरणमा नाटकीय परिवर्तन आएको छ । जनता दल– संयुक्त (जेडियु) नेता तथा मुख्यमन्त्री नितिश कुमारले भाजपासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) गठबन्धन तोड्दै गर्दै मुख्यमन्त्रीबाट राजीनामा गरेका छन् ।

मंगलबार दिउँसो उनले राज्यपाल फागु चौहानसँग भेटघाट गरेका थिए । भेटघाटपछि उनले एनडीए गठबन्धनको मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिए ।

राजीनामा लगत्तै नितिश कुमार विपक्षी राष्ट्रिय जनता दल (आरजेडी) का नेता रावडी देवी तथा तेजस्वी यादवसंग भेटघाट गर्न गएका थिए । जेडियु कार्यकर्ताहरुका अनुसार नितिश कुमारले विपक्षी दलहरुसँग मिलेर नयाँ गठबन्धन सरकार बनाउने छन् ।

नयाँ गठबन्धन सरकारको नेतृत्व पनि नितिश कुमारले नै गर्ने बताइएको छ ।

नितिश कुमार र तेजस्वी यादवले नयाँ सरकार गठनका लागि बहुमत पुगेको दाबी राज्यपाल समक्ष पेश गर्नेछन् ।

भाजपासँग लामो सहकार्यमा रहेका नितिश कुमारले गठबन्धन तोडेको यो पहिलो पटक भने हैन । सन् २०१४ मा पनि नितिश कुमारले भाजपासंगको गठबन्धन तोड्दै आरजेडी र कांग्रेससहितको महाबन्धन बनाएका थिए । सन् २०१४ को लोकसभा चुनावमा देशभरि मोदीको जादू चलको थियो । महागठबन्धनको विहारमा भने भाजपाको सरकार गठन प्रयास रोकिएको थियो ।

त्यसपछि नितिशकुमारले आरजेडी नेता तेजस्वी यादवलाई उपमुख्यमन्त्री बनाई गठबन्धन सरकार चलाएका थिए ।

सन् २०१७ मा नितिश कुमारले यसरी नै आरजेडी र कांग्रेससंगको कार्यकालको बीचमै गठबन्धन तोड्दै फेरि भाजपासँग मिलेर नयाँ गठबन्धन सरकार बनाएका थिए । सन् २०२० मा भएको पछिल्लो विधानसभा निर्वाचनमा जेडियु तथा भाजपा गठबन्धन कायम थियो ।

तर, मंगलबार जेडियु संसदीय दलले फेरि एकपटक नाटकीय निर्णय गरेको छ । भाजपासंगको ‘प्रि–इलेक्सन अलाइन्स’ तोड्दै कार्यकालको बीच मै विपक्षी दलहरुसंग सत्ता समीकरण बनाएको छ।

आफ्नो आवश्यकता र स्वार्थमा गठबन्धन तोड्न र बनाउँन नहिचकिचाउँने स्वभावका कारणले नितिश कुमारलाई ‘पल्टु नेता’ पनि भन्ने गरिन्छ।

गत आइतबार भएको प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गर्ने र मुख्यमन्त्रीहरुले भाग लिनु पर्ने नीति आयोगको बैठकमा नितिश कुमार अनुपस्थित भएका थिए । ततपश्चात भाजपा र जेडियु सम्बन्धमा समस्या आएको र गठबन्धन जुनकुनै बेला टुट्न सक्ने आशंका गरिएको थियो ।

केही दिन अघि मात्र भाजपा केन्द्रिय अध्यक्ष्य जेपी नड्डा प्रदेश राजधानी पटना पुगेका थिए । त्यहाँ भएको एक कार्यक्रममा उनले निकिश कुमारसंगको भाजपाको सहकार्य आगामी चुनावसम्म पनि कायम रहने बताएका थिए ।

तर, भाजपासंग नितिश कुमार निरन्तर चिडिदै गएका थिए ।

त्यसका दुई कारण हुन सक्ने समाचार माध्यमहरुले बताएका छन।

पहिलो– बिहार राजनीतिमा केन्द्रीय गृहमन्त्री तथा पूर्व भाजपा अध्यक्ष जसलाई मोदीको उत्तराधिकार तथा भावी प्रधानमन्त्रीका रुपमा समेत अनुमान गरिन्छ, उनको बढ्दो प्रभाव मुख्यमन्त्री नितिश कुमारलाई मन परिरहेको थिए ।

गृहमन्त्री अमित शाहले बोलाउँने मुख्यमन्त्रीहरुको बैठकमा नितिश अक्सर जाँदैनथे । बिहार राजनीतिमा शाहको दबाब मुख्यमन्त्री नितिश कुमार आफ्नै क्याबिनेटका भाजपा उपमुख्यमन्त्री तथा मन्त्रीहरुमार्फत् सामना गर्नु पर्दथ्यो । यस्ता दबाबको कारण उनलाई चाहेका कयौं निर्णय लिन गाह्रो हुन्थ्यो ।

दोस्रो कारण– केही हप्ता अघि महाराष्ट्र सरकार परिवर्तनमा भाजपा र केन्द्र सरकारले गरेको भूमिकाबाट नितिश कुमार डराएका थिए । महाराष्ट्रमा शिव सेना अध्यक्ष उद्धव ठाकरेको सरकार हटाएर उनकै सहयोगी एकनाथ सिन्धेको सरकार गठन गर्न भाजपाले शिव सेना विधानसभा सदस्यहरुलाई भगाएर असम पुर्‍याएको थियो । शिव सेना संसदीय दलमा ठूलो विभाजन भएको थियो । उद्धब ठाकरे महाराष्ट्रको मुख्यमन्त्रीबाट राजीनामा गर्न बाध्य भएका थिए ।

महाराष्ट्रमा जस्तै एक असन्तुष्ट जेडियु नेता आरसिपी सिंहलाई प्रयोग गरी भाजपाले बिहारमा नितिश कुमारको सरकार हटाउने र भाजपाको नेतृत्वको नयाँ सरकार बनाउँने षडयन्त्र गर्न थालेको आंशका नितिश कुमारलाई भएको थियो ।

भाजपासंग नितिश कुमारको दुरी बढ्दै जानुको थप कारण भने विधानसभाका सभामुख विजय कुमार सिन्हा भएको बताइन्छ । सिन्हा भाजापका हुन् । सभामुख र मुख्यमन्त्रीको सम्बन्ध खासै राम्रो थिएन । नितिश कुुमार सिन्हालाई सभामुखबाट हटाउन चाहन्थे । तर, यसका लागि भाजपा तयार भएन ।

सन् २००० मा उनी पहिलोपटक बिहारको मुख्यमन्त्री भएका थिए । पछिल्लोपटक उनी पाँचौपटक मुख्यमन्त्री भएका थिए । पुनश्चः उनी छैटौंपटक मुख्यमन्त्री हुनेछन् । पटकपटक गरी उनी २० वर्षभन्दा बढी बिहारको मुख्यमन्त्री भएका छन् ।

सन् २००५– २०१० बीचको दोस्रो कार्यकालमा उनी लोकप्रिय मुख्यमन्त्री थिए । उनले लालु तथा रावडी देवी शासनकालमा कयौं विकृति हटाई र राज्यको शान्ति सुरक्षामा उल्लेखनीय सुधार ल्याएको कारण उनलाई ‘सुशासन बाबु’ भन्न थालिएको थियो । उनीलाई कतिपयले भावी प्रधानमन्त्रीका रुपमा चर्चा गर्न थालेका थिए ।

तेस्रो कार्यकालपछि उनको लोकप्रियता घट्न थालेको थियो । पछिल्लो निर्वाचनमा भाजपासंगको चुनावी गठबन्धनका बाबजुद उनको दल जेडियु तेस्रो स्थानमा धकेलिएको थियो । भाजपाको भन्दा कम सीट हासिल गरे पनि भाजपाले उनलाई मुख्यमन्त्री स्वीकार गरेको थियो ।

प्रदेश राजनीतिमा लामो समयदेखिको गठबन्धन सहयात्री दल गुमाउनुको हानी भाजपालाई अवश्य हुनेछ । सबै विरोधी दलहरु एकातिर भए एक्लै महागठबन्धनको सामना गर्न भाजपाका लागि सजिलो हुने छैन ।

बिहार राजनीतिमा भाजपाको नयाँ रणनीति के हुन्छ ? प्रतिक्षा कै बिषय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved