पाेखरामा पहिराेले घर पुरिँदा एक जनाको ज्यान गयो

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

नेपालभ्युज

पाेखरामा पहिराेले घर पुरिँदा एक जनाको ज्यान गयो
फाइल तस्वीर

काठमाडौं। पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रनाउ तिवारीले जानकारी दिनुभयो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि वर्षा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved