बिमाको करौडौं रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या, योजनामा संलग्न गिरोह नै पक्राउ

नेपालभ्युज

बिमाको करौडौं रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या, योजनामा संलग्न गिरोह नै पक्राउ

काठमाडौं । बीमा कम्पनीबाट रकम लिनका लागि योजनाबद्ध रूपमा व्यक्ति हत्या गर्ने गिरोह पक्राउ परेको  छ। एकजनाको हत्या गरेर कम्पनीबाट  २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिएको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमाको रकम लिनैका लागि योजनावद्ध रुपमा दुईजनाको विवाह गराइएको र श्रीमान्‌लाई दुर्घटनामा पारेर मारिएको तथ्य फेला पारेको छ ।

२०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा मृत्यु भएको थियो । यही घटना अनुसन्धानका क्रममा प्रहरीले नयाँ-नयाँ तथ्य फेला पारेको हो । टिपरमा बालुवा लोडको काम सकी  राति ११ बजे भे १० प १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा सर्जनको मृत्यु भएको थियो ।

सर्जन विकको नाममा गरिएको बीमा बापतको २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिन थाल्यो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।

दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको छ । मृतक सर्जन र सपना श्रीमान्-श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको पाईयो । २०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए । त्यही दिन नै सर्जन र सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुलेको छ । उनीहरूको चैत २ गते विवाह दर्ता भएको तर त्यसपछि भेट भएको थिएन ।

यस घटनामा सपनासहित स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटासमेतको संलग्नता देखिएको छ । सपना मल्लको खातामा आएको २ करोड ५० लाख पनि भागबन्डा गरिएको थियो । उक्त रकममध्ये सञ्जीपले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको प्रहरीले जनाएको छ ।

 

सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन र म्यादी जीवन बीमा गराएका थिए । बीमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बीमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बीमा फरक थियो ।

श्रीमान्-श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीर र सपनाबीच भने पटक-पटक भेट भएको पाइएको छ । उनीहरु प्रेमी-प्रेमिका थिए । यस घटनामा बिमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको पाईएको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको प्रहरीले जनाएको छ । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा सपनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो ।

अन्यलाई प्रहरीले विभिन्न स्थानबाट फरक फरक समयमा नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध ज्यान मार्ने लगायतका कसुरमा मुद्धा अघि बढाईएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved