सम्झौता एक वर्ष थप्न मेस्सीलाई फकाउँदै पीएसजी

नेपालभ्युज

सम्झौता एक वर्ष थप्न मेस्सीलाई फकाउँदै पीएसजी

काठमाडौं। अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेस्सीलाई क्लबसँगको सम्झौता एक वर्ष थप्न पीएसजीले आग्रह गरेको छ।

गतवर्ष स्पानिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी आएका मेस्सीले दुई वर्षका लागि मात्र पीएसजीसँग सम्झौता गरेका थिए। सन् २०२३ को जुनमा सम्झौता सकिँदैछ।

सर्वाधिक सात पटकका बालोन डि ओर विजेता मेस्सीसँगको सम्झौता २०२४ सम्म लम्ब्याउन पीएसजीले आग्रह गरेको हो।

पीएसजीसँगको पहिलो सिजन मेस्सीका लागि खासै सुखद् रहेन। यो सिजन खेलेका सबै प्रतियोगितामा उनले ११ गोल र १४ असिस्ट मात्र गरेका थिए। पीएसजीबाट पहिलो सिजन लिग उपाधि जिते पनि युरोपियन च्याम्पियन्स लिग भने टिमले जित्न सकेन।

पहिलो पटक च्याम्पियन्स लिग जित्नकै लागि पनि पीएसजी मेस्सीसँगको सम्झौता बढाउन चाहन्छ। साथै मेस्सीलाई क्लबमा भित्र्याएपछि क्लबले एक वर्षमा सर्वाधिक सात सय मिलियन डलर नाफा कमायो, यही कारण पनि क्लब मेस्सीलाई गुमाउन चाहँदैन।

मेस्सी हाल यसै वर्ष कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ मा केन्द्रित छन्। ३५ वर्षीय मेस्सीको लागि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने सम्भवतः यो अन्तिम मौका हुन सक्छ।

करिब दुई दशक लामो फुटबल करियरमा सबथोक पाएका मेस्सीको लागि खड्किएको भनेको एउटा विश्वकप उपाधि मात्र हो। गतवर्ष उनकै कप्तानी र शान्दार प्रदर्शनमा अर्जेन्टिनाले २८ वर्ष पछिको प्रमुख उपाधिको रुपमा कोपा अमेरिकाको उपाधि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved