कोलम्बियाको राष्ट्रपतिमा वामपन्थीको विजय

१९ जून (५ असार)मा सम्पन्न निर्वाचनमा पूर्व विद्रोही एवं लामो समयदेखि संसद् सदस्य (सिनेटर) रहेका गुस्तावो पेत्रोले खसेका मध्येको ५० प्रतिशतभन्दा बढी मत ल्याएका हुन्।

नेपालभ्युज

कोलम्बियाको राष्ट्रपतिमा वामपन्थीको विजय
चुनावमा विजय प्राप्त गरेपछि गुस्तावो पेत्रो (हातमा माइक्रोफोन लिएका)।

काठमाडौं। कोलम्बियाको राष्ट्रपतीय निर्वाचनमा पहिलोपटक वामपन्थीहरूले विजय हासिल गरेका छन्।

१९ जून (५ असार)मा सम्पन्न निर्वाचनमा पूर्व विद्रोही एवं लामो समयदेखि संसद् सदस्य (सिनेटर) रहेका गुस्तावो पेत्रोले खसेका मध्येको ५० प्रतिशतभन्दा बढी मत ल्याएका हुन्।

देशको आर्थिक प्रणालीमा रूपान्तरण ल्याउने नारा बोकेका ६२ वर्षीय पेत्रोले प्रमुख प्रतिस्पर्धी रोडोल्फो हर्नान्डेजलाई सात लाख मतले उछिनेका हुन्। हर्नान्डेजले जम्मा ४७ प्रतिशत मत प्राप्त गरेका छन्।

पेत्रोको विजयले कोलम्बियाका जनतामा रहेको असन्तुष्टि अभिव्यक्त गरेको विश्लेषण गरिएको छ। पाँच करोड जनसंखख्या रहेको कोलम्बियामा गरिबी र असमानता व्याप्त छ। अवसरको कमीका कारण गत वर्ष लाखौं मानिसहरूले सडक प्रदर्शन समेत गरेका थिए।

“सिंगो देश परिवर्तन खोजिरहेछ”, कोलम्बियाका राजनीतिशास्त्री फर्नान्डो पोसाडा भन्छन्, “निर्वाचन परिणामले त्यही देखाएको छ।”

कोलम्बियाको इतिहास हेर्दा वामपन्थीको यो विजय अझ महत्त्वपूर्ण देखिन्छ।

सन् १९६४ देखि कोलम्बियामा ‘रेभुल्सनरी आर्म्ड फोर्सेस अफ् कोलम्बिया’ (फार्स) को नेतृत्वमा वामपन्थी सशस्त्र विद्रोह शुरू भएको थियो। दशकौंसम्म चलेको सशस्त्र संघर्षले वैधानिक (संसदीय) वामपन्थीको उदयलाई अप्ठ्यारो बनाएको थियो।

सन् २०१६ मा फार्सले सरकारसँग शान्ति सम्झौता गरेपछि कोलम्बियामा शान्तिपूर्ण राजनीतिले प्रवेश पाएको थियो।

राष्ट्रपतिमा निर्वाचित पेत्रो भने ‘एम-१९’ नामक भिन्दै विद्रोही समूहसँग आबद्ध थिए।

सन् १९९० मा शान्ति प्रक्रियामा आएर राजनीतिक दलमा परिणत भएको उक्त पार्टीले देशको संविधान पुनर्लेखनमा सघाएको थियो।

राष्ट्रपति पदका दुवै प्रतिपस्पर्धीले आफूलाई संस्थापनविरोधी उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। पुस्तौंपुस्तादेखि देशमा शासन गरिरहेको राजनीतिक वर्गको विपक्षमा आफूहरू खडा भएको उनीहरूको दाबी थियो।

विभिन्न अवसरमा उनीहरूले व्यक्त गरेका विचारले उनीहरूले देशको मूल समस्यालाई कसरी लिन्छन् भन्ने बताउँछ।

राष्ट्रपतिमा निर्वाचित पेत्रोले तेल निर्यातमा अत्याधिक निर्भर रहेको देशको आर्थिक प्रणाली भताभुंग भएको विश्वास गर्छन्। बढ्दो अवैध कोकिन व्यवसायले धनीलाई झन् झन् धनी र गरीबलाई अझ गरीब बनाएको उनी ठान्छन्। उनले थप तेल उत्खनन् रोक्ने, अन्य उद्योगहरूको विकास गर्ने, सामाजिक कार्यक्रम बढाउने र धनीहरूलाई उच्च कर लाद्ने नीतिहरू अघि सारेका छन्।

आउँदो अगस्टदेखि पेत्रोको कार्यकाल शुरू हुनेछ।

– न्यू योर्क टाइम्स र अलजजिरामा प्रकाशित समाचारको आधारमा तयार गरिएको।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved