२०२४ को टी ट्वान्टी विश्वकप छनोटको बाटो, नेपाललाई कति सहज ?

वरीयताले काम नगर्ने

२०२४ को टी ट्वान्टी विश्वकप छनोटको बाटो, नेपाललाई कति सहज ?

काठमाडौं। यसै वर्ष असोज-कात्तिकमा अष्ट्रेलियामा टी-ट्वान्टी विश्वकप क्रिकेट २०२२ आयोजना हुँदैछ। यदि एक निर्णायक खेलमा नतिजा आफ्नो पक्षमा हुन्थ्यो भने नेपालले पनि उक्त विश्वकप खेल्न पाउँथ्यो।

तीन महीनाअघि ओमानमा भएको यसै विश्वकपको छनोट प्रतियोगिताका पाँच खेलमा नेपालले चार खेल जित्यो। तर छनोटका लागि जित्नुपर्ने निर्णायक सेमिफाइनलमा भने यूएईसँग ६८ रनले पराजित भएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने मौका गुम्न पुग्यो।

अब दुई वर्षपछि आयोजना हुने सन् २०२४ को अर्को टी-ट्वान्टी विश्वकपमा पनि नेपालको छनोटको बाटो त्यति सहज देखिँदैन। २०२२ को विश्वकप शुरु हुन चार महीनाभन्दा बढी समय बाँकी छँदा नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२४ को विश्वकपको आधिकारिक छनोट प्रक्रिया सार्वजनिक गरेको छ।

कस्तो छ नेपालको छनोटको बाटो?

सन् २०२४ को विश्वकपमा पहिलो पटक २० राष्ट्रले सहभागिता जनाउँदैछन्। आईसीसीले यस विश्वकपमा सहभागी राष्ट्र संख्यालाई १६ बाट बढाएर २० पुर्‍याएको छ। तर विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या थपिए पनि छनोटका लागि नेपाललाई त्यति सहज भने नहुने देखिन्छ।

वरीयताले काम नगर्ने

२०२४ को विश्वकप खेल्ने २० राष्ट्रमध्ये १२ राष्ट्रले छनोट प्रतियोगिता नखेली सीधै प्रवेश पाउनेछन्। तर यसरी छनोट हुने यस क्याटगोरीमा पर्न यो वर्षको अष्ट्रेलिया विश्वकप खेलेको हुनुपर्नेछ। अष्ट्रेलिया विश्वकपमा छनोट हुन नसकेकोले सोझै २०२४ को विश्वकप खेल्ने नेपालको सम्भावना त समाप्त भैसक्यो।

आईसीसीका अनुसार वरीयताका आधारमा २०२४ को विश्वकपमा छनोट हुने पनि २०२२ को विश्वकप खेल्ने १६ टिमले मात्र हो। नेपालसहित अन्य टिमले छनोट प्रतियोगिता नखेली सुखै छैन।

हुन त नेपाल आईसीसीको वरीयताक्रममा सधैँ माथिल्लो स्तरमा रहन्छ। हाल पनि नेपाल वरीयताक्रममा १३ औँ स्थानमा छ। सोझो हिसाबले हेर्दा १६ राष्ट्र सहभागी यो वर्षको अष्ट्रेलिया विश्वकपमा पनि नेपालले सहभागिता जनाउनुपर्ने हो।

तर विश्वकप खेल्न वरीयतामा मात्र माथि भएर हुँदैन। विश्वकप खेल्न छनोट प्रतियोगितमा अन्य टिमलाई परास्त गर्दै छनोट हुनु आवश्यक छ। अब २०२४ को विश्वकप खेल्ने नेपालको एक मात्र बाटो भनेको एशियाली क्षेत्रीय छनोट प्रतियोगता नै हो।

२०२४ का लागि सीधै छनोट हुने १२ राष्ट्रबाहेक बाँकी ८ राष्ट्रको छनोट एशिया, अफ्रिका, युरोप, अमेरिकी र पूर्वी एशिया तथा प्यासाफिक क्षेत्र गरी छुट्टाइएको पाँच क्षेत्रीय छनोट प्रतियोगताबाट हुनेछ।
नेपालले खेल्ने एशियाली क्षेत्रीय छनोटबाट २०२४ विश्वकप खेल्ने राष्ट्रको कोटा जम्मा दुई ओटा छ।

त्यसैले विश्वकप खेल्ने देशको संख्या बढे पनि यो पटक आईसीसीले ग्लोबल छनोटमार्फत छनोट नगराई क्षेत्रीय स्तरमा छनोटको कोटा छुट्याएकाले नेपालको यात्रा कठिन देखिएको हो।

२०२२ विश्वकप को छनोट प्रतिायोगिताबाट बाहिरिएपछि नेपाल, ओमान र बहराइनले अर्को विश्वकपको लागि भने एशियाली क्षेत्रीय छनोट खेल्नेछन्। यो एशियाली क्षेत्रीय छनोटमा आगामी दिनमा सिंगापुर तथा हङकङ तथा सन् २०२२ को विश्वकपपछि यूएई पनि थपिने लगभग पक्का नै छ।

त्यसैले यो क्षेत्रबाट दुई टिम मात्र छनोट हुने हुनाले नेपालले पुरानै प्रतिद्वन्द्वी ओमान र यूएईसँग टक्कर गर्नुपर्ने हुन्छ। भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यका कारण ओमान र यूएईको टिम हाल निकै बलिया बनिरहेका छन्। उता सिंगापुर र हङकङ पनि यही बाटोमा हिँडिरहेका छन्।

२०२४ विश्वकपमा पुग्ने पूरा प्रक्रिया

सन् २०२४ को टी-ट्वान्टी विश्वकप अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। यो विश्वकप खेल्ने २० राष्ट्रमध्ये १२ राष्ट्रले सीधै प्रतियोगितामा प्रवेश पाउनेछन्। थप ८ राष्ट्रको भाग्य भने क्षेत्रीय छनोट प्रतियोगतामार्फत लाग्नेछ।

अमेरिका र वेष्ट इण्डिज २०२४ विश्वकपमा आयोजक रुपमा सीधै प्रवेश पाउने पहिलो दुई टिम हुन्। सोझै विश्वकप खेल्ने बाँकी १० राष्ट्रको टुंगो भने यसै वर्ष हुने अष्ट्रेलिया विश्वकपपछि लाग्नेछ। उक्त विश्वकपमा गरेको प्रदर्शनका आधारमा शीर्षस्थानमा रहने आठ टिमको लागि पनि २०२४ को विश्वकपको ढोका सीधै खुल्नेछ।

यसपछि थप दुई राष्ट्रले पनि वरीयताका आधारमा सोझै विश्वकपमा प्रवेश पाउनेछन्। यसै वर्षको विश्वकपको फाइनलको भालिपल्टै १४ नोभम्बरमा आईसीसीले नयाँ वरीयताक्रम सार्वजनिक गर्नेछ।
जसअनुसार अष्ट्रेलिया विश्वकप खेलेका तर सोझै छनोट हुन सफल १० राष्ट्रबाहेकका र वरीयतामा शीर्षस्थानमा रहेका अन्य थप दुई राष्ट्र पनि विश्वकप २०२४ का लागि छनोट हुनेछन्।

छनोट प्रतियोगिता मार्फत आठ टिम

यसपछि बाँकी ८ राष्ट्रले भने क्षेत्रीय छनोट प्रतियोगितामार्फत विश्वकपको ढोका ढक्ढकाउनुपर्ने हुन्छ। जसमध्ये एशिया, अफ्रिका र युरोप क्षेत्रबाट दुई-दुई राष्ट्र र अमेरिकी र पूर्वीएशिया तथा प्यासिफिक क्षेत्रबाट एक-एक राष्ट्र विश्वकपका लागि छनोट हुनेछन्।

यी क्षेत्रीय छनोट खेल्ने तल्लो वरीयताक्रमका टिमको टुंगो भने उप-क्षेत्रीय छनोट प्रतियोगिताबाट लाग्नेछ। जसमध्ये युरोपेली उप-क्षेत्रीय छनोट प्रतियोगिता यसै महीनादेखि शुरु हुने आईसीसीले जनाएको छ।

यो २०२४ को विश्वकप हालसम्मकै टी-ट्वान्टी विश्वकपमध्ये सबैभन्दा ठूलो प्रतियोगिता हुने आईसीसीको दाबी छ। जसमा पहिलेभन्दा बढी टिमले सहभागिता जनाउनेछन् भने सहभागिताका लागि छनोट प्रतियोगिता खेल्ने टिमको संख्या पनि यो पटक बढेको छ।

युरोपियन राष्ट्र बेल्जियम र फिन्लाण्डले पनि पहिलो पटक टी-ट्वान्टी विश्वकपको छनोट खेल्दैछन्।

आईसीसीका इभेन्ट प्रमुख क्रिस टेट्ले भन्छन्, “हामी निकै खुशी छौं कि यो पटक कीर्तिमानी संख्यामा टिमहरू आईसीसीको इभेन्टको रुपमा रहेको पुरुष विश्वकपको छनोट प्रतियोगितामा सहभागी छन्। टी-ट्वान्टी फर्म्याटले क्रिकेट खेललाई लोकप्रिय बनाउन निरन्तर योगदान गरिरहेको छ र आगमी दुई वर्षमा क्रिकेटमा विल्कुलै नयाँ राष्ट्रहरूले आईसीसीको प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदैछन्।”

हंगेरी, रोमानिया, सर्वियाजस्ता राष्ट्रले पनि युरोपियन उप-क्षेत्रीय छनोटबाट पहिलो पटक आईसीसीको प्रतियोगितामा आधिकारिक डेब्यु गर्दैछन्। पहिलो चरणको उप-क्षेत्रीय छनोट प्रतिस्पर्धामा विश्वभरिका तल्लो वरीयताका ६८ राष्ट्रले विभिन्न १० उप-क्षेत्रीय छनोट प्रतियोगतामा प्रतिस्पर्धा गर्नेछन्।

यसपछि यी मध्येबाट छनोट भएका १४ टिम पाँच क्षेत्रीय छनोटमा प्रवेश पाउनेछन्। जसको भेट माथिल्लो वरीयतामा रहेका र साझै विश्वकपमा छनोट हुन नसकेका नेपालसहित अन्य १४ राष्ट्रसँग हुनेछ।
यसपछि पाँच क्षेत्रमा बाडिएका कुल २८ राष्ट्रले आ-आफ्नो क्षेत्रका टिमहरुसँग विश्वकपमा पुग्ने निर्धारित क्षेत्रिय कोटको लागि भिडन्त गर्नेछन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved