एमालेका कारण राजनीतिक दलप्रति नागरिक बिच्किए : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) का कारण आमनागरिक राजनीतिक दलप्रति बिच्किएको आरोप लगाएका छन्।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) का कारण आमनागरिक राजनीतिक दलप्रति बिच्किएको आरोप लगाएका छन्।

हेटौँडामा कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता थापाले एमालेकाे नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आमनागरिक राजनीतिक दलप्रति बिच्किएको आरोप लगाएका हुन्। उनले पाँच वर्षसम्म एमाले नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको बताए।

‘‘पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व हाबी थियो। लामो समयपछि भएको स्थानीय निर्वाचन र स्थिर सरकार गठन भयो भनेर जनता आशावादी भएका थिए’’, नेता थापाले भने,‘‘तर तत्कालीन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलियो।’’

निरङ्कुशताको सजाय जनताले स्थानीय निर्वाचनमा उनीहरूलाई दिइसकेको दाबी गर्दै महामन्त्री थापाले अब एमालेलाई दोष दिनुभन्दा जनताकाे मनाेभावना अनुरुप काम गर्नुपर्ने बताए।

“केही स्थानीय तहमा बाहेक केन्द्र, प्रदेश र स्थानीय स्तरमा अब एमालेको सरकार छैन। उनीहरूले सजाय पाइसके”, उनले भने, “अब आ–आफ्नो स्थानबाट जनहितका जिम्मेवारी पूरा गर्ने अवसर हामीले पाएका छौँ। अब हामी एमालेलाई दोष दिएर बस्ने होइन, जनताको मनोभावना अनुरुप काम गर्ने हो।”

कार्यक्रममा उनले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावना अनुरुप अघि बढ्न तथा स्थानीय नागरिककाे हितमा काम गर्न निर्देशन दिएका छन्। अबको नेतृत्वले नागरिकलाई सरकारको प्रत्याभूति गराउनुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved