चार स्थानीय तहको प्रमुख जितेर रेशम चौधरीको पार्टी कैलालीमा सबैभन्दा ठूलो

टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीको विजयले अन्य दलका नेता कार्यर्ताका लागि अनुमान गरिएभन्दा फरक नतिजा आएको छ।

चार स्थानीय तहको प्रमुख जितेर रेशम चौधरीको पार्टी कैलालीमा सबैभन्दा ठूलो

टीकापुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कैलालीका चार स्थानीय तहको प्रमुख र तीन उपप्रमुखमा विजयी भएर नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ। कैलालीको जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, टीकापुरको प्रमुख र भजनी नगरपालिकाको प्रमुख -उपप्रमुखमा विजयी भएर सो पार्टी पहिलो दल बन्न सफल भएको हो।

जानकी गाउँपालिकाको आधिकारिक नतिजा भने सार्वजनिक हुन बाँकी छ।

यो पार्टीले यी पालिकामा प्रमुख-उपप्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलका प्रत्यासीलाई पराजित गरेको छ। पाँच वर्षअघिको निर्वाचनमा टीकापुर नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस, जोशीपुर गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा कांग्रेस, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका थिए।

टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीको विजयले अन्य दलका नेता कार्यर्ताका लागि अनुमान गरिएभन्दा फरक नतिजा आएको छ।

यसअघिको स्थानीय तह निर्वाचनमा ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायत आधारमा गरिएको चुनावी परिणामको आङ्कलन गलत साबित भई परिणाम आफ्नो पक्षमा ल्याउन नागरिक उन्मुक्ति पार्टी सफल देखिएको हो। जिल्लामा १३ पालिका रहेका छन्।

कैलालीमा आज साँझसम्म नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका प्रत्याशी लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकाको प्रमुखमा र कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्। सो पार्टीका प्रत्याशीले घोडाघोडी र गौरीगङ्गा नगरपालिको उपप्रमुख, मोहन्याल र चुरे गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन्।

माओवादी केन्द्रका प्रत्यासी जिल्लाको गौरीगङ्गा नगरपालिकाको प्रमुख र मोहन्याल गाउँपालिकाको अध्यक्ष र टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष जितेको छ। लम्कीचुहा र गौरीगङ्गा नगरपालिका तथा जानकी गाउँपालिकाको आधिकारिक नतिजा पुष्टि हुन भने बाँकी छ।

एमालेले जिल्लाको चुरे गाउँपालिकाको अध्यक्ष, लम्कीचुहा र गोदावरी नगरपालिकाको उपप्रमुखमा विजयी भएको छ। नेकपा (एकीकृत समाजवादी) ले घोडाघोड नगरपालिकाको प्रमुखमा विजयी भएको छ। माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीच जिल्लाका पालिका तहका प्रमुख-उपप्रमुख पदमा तालमेल गरिएको थियो। सत्ता साझेदार दलहरुबीच गरिएको तालमेलअनुसार नतिजा घोडाघोडी र गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिकामा आएको छ। अन्य पालिका तहमा तालमेल अनुसारको नतिजा आउन सकेन।

विसं २०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुखमा विजयी भएको थियो। सम्पन्न निर्वाचनको परिणामअनुसार एमाले पाँच वर्षअघि जितेका धेरै पालिकाका प्रमुख र उपप्रमुखमा पराजय बेहोरेको छ।

कांग्रेस र माओवादी केन्द्रले पनि पहिले जितेका कतिपय पालिकाको प्रमुख उपप्रमुखमा यसपालिकाको चुनावमा पराजय व्यहोरेको छ। एमालेबाट विभाजन भई गठन गरिएको एकीकृत समाजवादीले एकपालिका प्रमुख (घोडाघोडी) मात्र जित्यो।

एकीकृत समाजवादीले तालमेल गरेको चुरे गाउँपालिकाकाको अध्यक्ष र गोदावरी नगरपालिकाका उपप्रमुखमा प्रतिस्पर्धीसँग थोरै मतान्तरले पराजय बेहोरेको छ। चुरेको अध्यक्ष र गोदावरीको उपप्रमुखमा एमाले विजयी भएको छ।

धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार छ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। उनलाई कांग्रेसका नृपबहादुर वडले नौ हजार ९२९ मतसहित पछ्याइरहेका छन्। उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीले नौ हजार २०९ मत प्राप्त गर्दै अगाडि छिन्।

उनलाई एमालेका उपप्रमुखका प्रत्यासी कन्दकला रानाथारूले आठ हजार ५४० मतसहित पछ्याइरहेकी छन्। १९ वडा रहेको उपमहानगरमा आज साँझसम्म ४५ हजार मतको गणना भइसकेको छ। झन्डै १८ हजार मतको गणना हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved