१३ हजारभन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित : निर्वाचन आयोग

नेपालभ्युज

१३ हजारभन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित : निर्वाचन आयोग

काठमाडौं। ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

सोमबार आयोगकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ः३० बजेसम्ममा १३ हजार पाँच सय ८२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्।

प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले बताए। त्यसैगरी वडाध्यक्ष दुई हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य दुई हजार ६७८ र दलित महिला सदस्य दुई हजार ६४७ निर्विरोध निर्वाचित भएको उनले उल्लेख गरे।

विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा आज मतदान भएको प्रवक्ता पौडेलले बताए।

बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले जानकारी दिए।

उनले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सूचना दिएर निर्वाचन गराइने बताए।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कतै नचुकेको पनि स्पष्ट पारे। उनले भने, ‘‘आयोगको दृष्टिमा सबै दल बराबर हुन्छन्। आफ्नो ड्युटीमा आयोग कहीँकतै चुकेको छैन।’’

छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved