प्रहरीबाटै कुटिए मतदान अधिकृत, म्यादी र गाउँले

‘‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्। त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो’’, मतदान अधिकृत निरज झाले भने।

नेपालभ्युज

प्रहरीबाटै कुटिए मतदान अधिकृत, म्यादी र गाउँले
सांकेतिक तस्वीर

सुर्खेत। निर्वाचन सुरक्षाका लागि खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्।

मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए। त्यहाँ चारजना स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेका थिए। म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई उद्धार गरेर मतदान अधिकृत लगायतको टोली बसेको घरमा राखिएको थियो। उनले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए।

भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन्। मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म भट्टले उनीसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्। ‘‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्। त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो’’, उनले भने।

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved