वैदेशिक रोजगारीमा जानेको परिवारमा पनि मानसिक समस्या, १७ प्रतिशतमा डिप्रेशन

नेपालभ्युज

वैदेशिक रोजगारीमा जानेको परिवारमा पनि मानसिक समस्या, १७ प्रतिशतमा डिप्रेशन

काठमाडौं। वैदेशिक रोजगारीका कारण विदेश जानेमा मात्र नभएर विदेशिनेको परिवारमा पनि मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी)ले गरेको एक अध्ययनअनुसार वैदेशिक रोगजारीका कारण चिन्ताजन्य समस्या बढेको छ।

सीएमसीले विदेशिने व्यक्तिको परिवारलाई मनोपरामर्श सेवा प्रदान गरेको थियो। जसमा ५ हजार ७४८ जनाले व्यक्तिगत मनोपरामर्श र ३० हजार ६३६ जनाले समूहमा गरिने मनोपरामर्श सेवा लिएका थिए। जसमध्ये ६० प्रतिशत वैदेशिक रोजगारीमा गएका व्यक्तिको श्रीमती, २१ प्रतिशत आमा, ३/३ प्रतिशत बुवा र छोराछोरीलाई मानसिक समस्या देखिएको हो।

उनीहरूमध्ये ७३ प्रतिशतमा चिन्ताजन्य समस्या, १७ प्रतिशतमा डिप्रेशन, ४ प्रतिशतमा आघातको समस्या देखिएको थियो। सहभागीमध्ये ३ प्रतिशतले आत्महत्याको प्रयास पनि गरेको पाइएको हो।

केन्द्रले विभिन्न १० कार्यक्रम ५१ जिल्लाका १९६ वटा स्थानीय तहमा सञ्चालन गरिरहेको छ। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको पहिचान र त्यसको व्यवस्थापनको कार्यक्रम सञ्चालन गरिरहेको छ।

यसैगरी केन्द्रले गरेको अर्को अध्ययनअनुसार लैङ्गिक हिंसा भोगेकामध्ये ३३ प्रतिशतमा कडा खालको दिग्दारीपन र बारम्बार आत्महत्याको सोचाइ आउने गरेको देखिएको छ। सीएमसीले लैंगिक हिंसा भोगेका उदयपुर, काठमाडौं र सिन्धुलीका सुरक्षित आवासगृह र प्रहरी सेलमा रहेका तीन सय महिलामा यस्तो अध्ययन गरेको थियो।

उनीहरूमा देखिएको यस्तो समस्या समाधानका लागि राज्यले मानसिक रोग विशेषज्ञसँग सहकार्य गरी सेवा दिन आवश्यक रहेको सीएमसी नेपालका अध्यक्ष डा. एसपी कलौनीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved