स्थानीय चुनाव-२०७९

हेटौंडामा उस्तै एजेन्डा, चर्को प्रतिस्पर्धा

हेटौंडामा उस्तै एजेन्डा, चर्को प्रतिस्पर्धा

हेटौंडा। स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि निर्वाचनको रौनक बढेको छ। उम्मेदवारी दिनेहरु धेरै भए पनि मुख्य गरी गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

हेटौंडामा विशेष गरी पाँच दलीय गठबन्धन र नेकपा एमालेको नै चर्चा बढी छ। मेयर पदका लागि नेकपा एमालेबाट संविधान सभा सदस्य समेत भइसकेका अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर भइसकेकी मीना लामाले उम्मेदवारी दिएकी छिन्।

दुबैले आफूले जित्ने दावीका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्। कुनै समय एउटै पार्टीमा रहेका लामा र पौडेल अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा एमाले विभाजन भएपछि लामा समाजवादीमा लागेकी थिइन् भने पौडेल एमालेमा नै रहेका छन्।

पाँच दलीय गठबन्धनको विरुद्ध एमाले एक्लै लड्ने चर्चा भइरहे पनि हेटौंडामा भने एमाले एक्लै छैन। लामाको साथमा पाँच दलीय सत्ता गठबन्धन रहेको छ भने पौडेललाई कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले साथ दिएको छ।

लामा र पौडेल बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार बनेका दीपकबहादुर सिंहको पनि राम्रै चर्चा रहेको छ।

शिक्षा स्वास्थ्यमा सबैको जोड

हेटौंडा उपमहानगरपालिकाको मेयरका आकांक्षीहरु सबैले शिक्षा र स्वास्थ्यमा जोड दिएका छन्। उपमहानगरका नै केही वडाका बालबालिकाहरु अझै पनि आधारभूत शिक्षाबाट नै बञ्चित भइरहेको अवस्थामा शिक्षामा जोड दिँदै मेयरका आकांक्षीहरुले भोट मागरिहेका छन्।

”उपमहानगरपालिकाको केही भेगमा अझै पनि आधारभूत शिक्षाबाट नै बालबालिकाहरु बञ्चित हुन परेको अवस्था छ,” नेकपा एमालेको तर्फबाट मेयरका आकांक्षी अनन्त पौडेलले भने,”मलाई यहाँको भूगोल राम्रोसँग थाहा छ। अघिल्लो पटक हामीले नै धेरै कामहरु गरेका थियौं। अब त्यसकै निरन्तरता पनि हुन्छ। उपमहानगरकै विकट क्षेत्रमा हामीले शिक्षा र स्वास्थ्यको पहुँच बढाउने गरी काम गर्छौं। ”

अहिले हेटौंडामा भएको विकासलाई हेरेर नै अब पनि नेकपा एमालेलाई नै स्थानीयहरुले जिताउने नेकपा एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलको दाबी छ। अब जनताको जीवन, शिक्षा, स्वास्थ्य, जीवनस्तर, रोजगारीको क्षेत्रमा काम गर्न आफूले उम्मेदवारी दिएको पौडेल बताउँछन्। स्थानीय सरकार भनेको जनताले हेर्दा देख्ने सरकार भएको र गठबन्धनले यसलाई दुर्गन्धित बनाउने कोसिस गरिरहेको उनको आरोप छ।

हेटौंडाको मेयर पदका उम्मेदवार मीनाकुमारी लामाले पाँच वर्षको अवधीमा हेटौंडा उपमहानगरपालिकामा धेरै काम गरेको दाबी गरेकी छन्। त्यहि समयमा काम गरेको आधारमा नै अब पनि मेयरमा आफूलाई हेटौंडाका स्थानीयले जिताउने उनको तर्क छ।

”स्वास्थ्यको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले क्रमिक रुपमा सुधार गरिनै रहेको छ तर त्यो अझै पर्याप्त छैन,” उनले भने,”शिक्षा क्षेत्रमा पनि धेरै कामहरु गर्नु पर्ने देखिन्छ। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्ने गरी हामी काम गर्छौं।”

मेयर पदमा जितेको खण्डमा हेटौंडा उपमहानगरपालिकालाई देशकै अब्बल पालिका बनाउन उदाहरणीय काम गर्ने उनको दाबी छ।

पोखरेलको राजीनामाले धक्का

नेकपा एसका अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजीनामा दिएपछि भने गठबन्धनलाई केही धक्का पर्ने देखिएको छ। पोखरेलले पार्टीबाट राजीनामा दिएकै भोलिपल्ट नेकपा एमाले प्रवेश गरिसकेका छन्। यद्यपी लामा केही व्यक्तिले पार्टी छोड्दैमा पार्टी वा गठबन्धनलाई कुनै पनि असर नपर्ने बताउँछिन्।

अध्यक्ष रहेका श्रीधर पोखरेलले पार्टी छोडेर गठबन्धनलाई कुनै पनि असर नपरेको उनी बताउँछिन्। ”पार्टी नै छोड्नको लागि रहेछ, पहिलादेखि नै पार्टीको सार्वजनिक कार्यक्रममा देखिनुहुँदैनथ्यो,” उनले भनिन्, ”उहाँको पार्टी निर्माणमा न्यून भूमिका रहेको छ। उहाँले छोडेर गए पनि गठबन्धनलाई खास फरक परेको छैन। हामी जित्छौं।”

पोखरेलको व्यक्तिगत र पारिवारिक भोट घटेपनि गठबन्धनलाई केही असर नपर्ने उनको तर्क छ। पोखरेलले उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि पार्टीबाट अलग भएका थिए।

जिल्ला अध्यक्षले नै पार्टी परित्याग गरेसँगै गठबन्धनको केही मत एमालेतर्फ सरेको छ। नेकपा एकिकृत समाजवादीको अध्यक्ष रहँदा नै पोखरेलले समाजवादीको जिल्लास्तरीय केही नेताहरुलाई पनि आफूसँगै लिएर गएका थिए।

यसले पनि गठबन्धनलाई उनको राजीनामाले धक्का पुगेको देख्न सकिन्छ। नेकपा एमाले प्रवेश गरेकै दिनबाट उनले हेटौंडामा एमालेको प्रचार टोलीमा सहभागीता जनाएका छन्।

”नेकपा एकिकृत समाजवादीमा रहेर मैले काम गर्न नसक्ने देखेँ। यो पार्टीमा पनि व्यक्तिवादी नै हावी भइरहेको छ,” पोखरेलले भने,”पद नपाएर छोडेको भन्ने आरोप गलत हो। मैले यो पार्टीले जनताको भविष्य उज्वल बनाउन सक्ने अवस्था नै देखिन। तसर्थ म पुरानो पार्टीमा फर्किएका हुँ।”

गठबन्धनलाई उनको राजीनामाले धक्का दिएको विश्लेषण भए पनि यसले खास फरक नपारेको गठबन्धनको नेताहरुको दाबी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved