हेटौँडाको मेयरका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

हेटौँडाको मेयरका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता

हेटौँडा। मनोनयन दर्ताको पहिलो दिन आइतबार हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। ५ जनाले विभिन्न दलबाट उम्मेदवारी दिएका छन् भने २ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मेयरका लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)बाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्ताैलाले उम्मेदवारी दर्ता गराएका हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए। हेटौंडाको मेयरको लागि स्वतन्त्र तर्फबाट लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै हेटौंडाको उपमेयर पदमा दुई जनाले उम्मेदवारी दिएका छन्। उपमेयरको लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)बाट मखकुमारी तिमल्सिनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शर्माले बताए। हेटौंडाको १९ वटा वडामध्ये वडा नम्बर १, २, ५, ८, १७, १८ र १९ को वडा अध्यक्षमा पनि उम्मेदवारी परेको छ।

१९ नम्बरमा दुई जनाले वडा अध्यक्षको लागि उम्मेदवारी दिएका छन् भने बाँकी वडामा १/१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडा १७ मा भने नेपाल विवेकशील पार्टीले वडा अध्यक्षसहित ५ जनाको प्यानल नै दर्ता गराएको छ। १७ नम्बर वडा अध्यक्षमा विवेकशील पार्टीबाट कृष्ण देव भण्डारीले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved