स्थानीय तह निर्वाचन

हेटौंडा उपमहानगरमा कांग्रेस विभाजित, समाजवादी उत्साहित, माओवादी मौन

एकिकृत समाजवादीलाई मेयर दिने निर्णय गठबन्धनभित्र भइसकेको छ। तर, कांग्रेसभित्रको असन्तुष्टिका कारण गठबन्धनका दलहरु एक ठाउँ बसेर अब कसरी अघि बढ्ने भन्ने ठोस रणनीति तय गर्न सकेका छैनन्। मनोनयनका लागि दुई दिन मात्रै बाँकी हुँदा उम्मेदवार टुंगो लागिसकेको छैन।

हेटौंडा उपमहानगरमा कांग्रेस विभाजित, समाजवादी उत्साहित, माओवादी मौन

हेटौंडा। मंगलबार बसेको गठबन्धनको बैठकले हेटौंडा उमपहानगरपालिकाको मेयर पद नेकपा एकिकृत समाजवादी पार्टीलाई दिने निर्णय गरेलगत्तै हेटौंडास्थित कांग्रेसको जिल्ला कार्यालयमा केही कार्यकर्ताहरुले तालाबन्दी गरे। केही नेताहरु थुनिए। जिल्ला सभापति बुद्ध लामाले आक्रोशित हुँदै ताला खुलाएर सबै ‘अराजक’  कार्यकर्ताहरुलाई कारबाही गरिने घोषणा गरे।

लगत्तै भोलिपल्ट कांग्रेस मकवानपुरले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय गठबन्धनको निर्णय मानेर मित्रवत् प्रतिस्पर्धा गर्ने जनायो। कांग्रेसकै असन्तुष्ट पक्षले फेरि केन्द्रीय गठबन्धनको निर्णय नमान्ने भन्दै पत्रकार सम्मेलन गर्‍यो।

अहिले कांग्रेस मकवानपुरको मत यसैगरी विभाजित भइरहेको छ। जिल्लास्थित नेतृत्वले आश्वस्त पार्न खोजेपनि आम कार्यकर्ताहरु गठबन्धनको निर्णयप्रति ‘कन्भिन्स्ड’ हुन सकेका छैनन्।

‘अहिले गठबन्धन गरेर रुखमा मत हाल्नु पर्ने कार्यकर्ताले कलममा मत दिन त सक्लान् तर भोलि कलम गएर सूर्यमा समाहित भयो भने के गर्ने ?’ नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दल नगर सभापति सुनिल गिरीले प्रतिप्रश्‍न गरे,‘आम कार्यकर्ताको भावनामाथि खेलवाड भएको छ। केन्द्रको निर्णय हामीले कसरी मान्ने ?’

यसअघिको स्थानीय निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रसँग कांग्रेसको गठबन्धन भएको थियो। तर, कांग्रेस उम्मेदवार आनन्दराम पराजुली ६१५  मतले पराजित भए। यद्यपी बदर मतको संख्या नै सात हजारभन्दा बढी थियो। अहिले पनि अवस्था उस्तै छ।

अघिल्लो पटक भएको प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्बर एकमा  राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको थियो। जिल्लाका नेताहरुले मनोनयनको दुई दिन अघिसम्म पनि यसको चर्को विरोध गरेका थिए।

तत्कालीन कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ (अहिले प्रदेश सभापति) ले सो निर्वाचन क्षेत्रबाट उम्मेदवार हुने चाहना व्यक्त गरेका थिए। तर, केन्द्रले थापालाई समर्थन गर्ने निर्णय गर्‍यो। यसका बाबजुद थापा निर्वाचनमा पराजित भए।‘अहिले अवस्था फरक छ। संविधानको रक्षा गर्ने र व्यवस्था जोगाउन पाँच दलको गठबन्धन भएको छ,’ कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले भने।

आनन्दरामको बेचैनी

अघिल्लो पटक मेयर पदमा पराजित भएपनि कांग्रेसका आनन्दराम पराजुलीले हरेश खाएनन्, बरू राजनीतिक सक्रियता बढाए। उनको योजना यसपटक मेयर बन्‍ने थियो।

मेयरको उम्मेदवार बन्‍न पाउने आश्वासन पाएपछि उनले जिल्ला सभापति पदमा पनि त्याग गरे। जिल्ला सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन तय भएको थियो, निर्वाचनअघि नै मेयरको उम्मेदवार बनाउने सहमति भएपछि आनन्दरामले दोस्रो चरणमा आफ्नै प्रतिस्पर्धीलाई समर्थन गरे।

अहिले आएर समाजवादीले मेयर पाउने भएपछि उनी असन्तुष्ट छन्।  ‘मैले पाँच वर्ष अघिदेखि नै तयारी गरेको थिएँ। म जहिले पनि जनतासँग जोडिएर काम गरेँ,’ उनले भने,‘तर पार्टीले गठबन्धन गर्ने र समाजवादीलाई हेटौंडाको मेयर दिने निर्णय गर्‍यो। म व्यक्तिगत रुपमा सन्तुष्ट त छैन।”

कांग्रेसभित्र असन्तुष्टि देखिँदा गठबन्धनका दलहरु एक ठाउँ बसेर अब कसरी अघि बढ्ने भन्ने ठोस रणनीति तय गर्न सकेका छैनन्। मनोनयनका लागि दुई दिन मात्रै बाँकी हुँदा उम्मेदवार टुंगो लागिसकेको छैन।

समाजवादी उत्साहित

नेकपा एकिकृत समाजवादीको अन्य जिल्लाको तुलनामा मकवानपुरमा बलियो संगठन संरचना छ। यसकारण पनि समाजवादीले हेटौंडामा दाबी गर्‍यो र मेयरको टिकट पाउने भयो।

संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडा र बागमति प्रदेशका समाजवादी दलका  प्रमुख सचेतक मुनु सिग्देल दुबै मकवानपुरकै नेता हुन्। मकवानपुरमा एमाले विभाजन हुँदा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख नै समाजवादीमा आएकी थिइन्। उनीमात्रै होइन अन्य दुई पालिकाका प्रमुखले पनि समाजवादी रोजेका थिए। यस आधारमा पनि अन्य जिल्लाको दाँजोमा मकवानपुरमा समाजवादीको प्रभाव राम्रै देखिन्छ।

‘गठबन्धनको निर्णयले हामीलाई थप हौसला दिएको छ,’ नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले भने,‘जिल्लामा पनि गठबन्धनका कार्यकर्ताहरुको समर्थन हुनेछ। हेटौंडामा हामीले सहजै जित्छौं। उम्मेदवार तय गर्ने विषयमा अझै छलफल भइरहेको छ।’

मौन माओवादी

गठबन्धनको निर्णयमा नेकपा माओवादीको समर्थन भएपनि पछिल्लो समय विकसित घटनाक्रममा माओवादी मौन जस्तै छ। अघिल्लो पटक नेपाली कांग्रेससँग हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा गठबन्धन गरेको नेकपा माओवादीले हेटौंडामा नमिठो पराजय भोग्नु पर्‍यो।

हेटौंडाका लागि माओवादीबाट उपमेयरका उम्मेदवार बनेका बलराम बल अहिले नेकपा एमाले प्रवेश गरिसकेका छन्। बलले त्यतिबेला मेयरका उम्मेदवार पराजुलीले भन्दा निकै कम मात्रै मत ल्याएका थिए।

बलले १७ हजार ११ मत ल्याएका थिए। जबकी पराजुलीले २२ हजार ५ सय ९ मत ल्याएका थिए। यसर्थ पनि माओवादी मौन छ। ‘हामीले गठबन्धनको निर्णयको स्वागत गरेका छौं। यस पटक समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने भएको छ। हामी यो पटक पनि हेटौंडा उपमहानगरपालिकामा रित्तो छौं,’ माओवादीका एक जिल्लास्तरीय नेताले भने,‘जिल्लामा गठबन्धन कसरी अघि बढ्छ हामी हेरिरहेका छौं। ठोस रुपमा छलफल भएको छैन। रणनीति तय भएको छैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved