नेविसंघलाई बलियो बनाएर चुनावमा एक्लै जानुपर्छः डा. शेखर कोइराला

नेपालभ्युज

नेविसंघलाई बलियो बनाएर चुनावमा एक्लै जानुपर्छः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसंघ उपत्यका क्याम्पस एकाइले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन्।

“हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ”, डा कोइरालाले भने।

कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उनले उल्लेख गरे। आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने उनले बताए। नेविसंघलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो।

कांग्रेस उपसभापति धनराज गुरुङले नेविसंघको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताए।  पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी संकटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने उनले बताए।

“कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसंघ बचाउन जरुरी छ”, उनले भने। उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताए।

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved