मधेसमा एमालेको तयारी : सकभर एक्लै लड्ने, गठबन्धन गर्नैपरे लोसपासँग

नेपालभ्युज

मधेसमा एमालेको तयारी : सकभर एक्लै लड्ने, गठबन्धन गर्नैपरे लोसपासँग

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा (एमाले) ले लोसपासँग चुनावी गठबन्धनका लागि आन्तरिक संवाद थालेको छ।

एमालेको मधेश प्रदेशकी सांसदसमेत रहेकी नेतृ शारदादेवी थापाले सत्तारुढ गठबन्धन दलहरूसँग एक्लै लड्ने तयारी गरेको र गठबन्धन गर्नैपरे लोसपासँग गर्न सकिने बताइन् ।

यता लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले पनि आवश्यकता महसुस भएका ठाउँमा विचार मिल्ने दलसँग गठबन्धन हुनसक्ने संकेत गरेका छन्।

प्रदेश कमिटीलाई पूर्णता

सोमबार महोत्तरीको बर्दिबासमा बसेको एमाले प्रदेश कमिटीको बैठकले कमिटीलाई पूर्णता दिएको छ। साथै शपथ ग्रहण पनि गराएको छ। पालिकाको काम बाँडफाँटका लागी निर्वाचन समिति तय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनित गरिएको छ भने निर्वाचनसम्बन्धी कार्यायोजना बनाएर निर्वाचन परिचानलन समिति समेत गठन गरेको छ। नेकपा एमालेबाट टुक्रिएर नेकपा (एस) बनेपछि एमाले मधेश प्रदेशमा पनि कमजोर देखिएको छ ।

सत्ता गठबन्धन मोडालिटी तय गर्नमै व्यस्त

यता, ५ दलीय सत्ता गठबन्‍धन भने चुनावी मोडालिटी बनाउनमै व्यस्त छ। आज सोमबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सत्तारुढ दलहरूले ३ र ४ वैशाखमा ४/४ जिल्लाको छुट्टाछुट्टै बैठक बस्ने निर्णय गरेको छ।

मधेश प्रदेशमा गत स्थानीय चुनावमा एमाले विजयी भएका स्थानीय तहमा आफ्ना उम्मेदवार उठाउन पाउनुपर्ने माग सत्ता गठबन्ध‍नमा नेकपा एसले राखेको छ। तत्कालीन समयमा एमालेबाट जितेका अधिकांशले आफ्नो पक्षमा सनाखत गरेका नेकपा एसको दाबी छ।

जसपा, कांग्रेस र माओवादीले पनि आफ्ना दाबी छाडेका छैनन्। एकातिर निर्धारित समयमा उम्मेदवार टुंग्याउनुपर्ने र अर्कोतिर गठबन्धनभित्र उठेका विवादहरूलाई मत्थर बनाउन गठबन्धन दलहरूलाई निक्कै कसरत गर्नुपरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved