गठबन्धनमा चुनावी तालमेल माथिबाट लाद्ने होइन, स्थानीय कांग्रेसले चाहे मात्रै हुन्छ : गगन थापा

“यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मत मेरो आफ्नो मत हो। मत राखेँ,” थापाले भने।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानिय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन्।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताए।

“गठबन्धनमा रहेका दलहरुका बीचमा देशैभरी अहिले छलफल चलिरहेको छ। छलफल चल्छ। छलफल चल्दै गर्दाखेरी कुराकानी मिल्यो भने तालमेल हुन्छ,” थापाले भने, “कुराकानी मिलेन, तालमेल हुँदैन। कुराकानी मिलेन भनेदेखि आ–आफू लड्न पाइन्छ। लड्न पाउनुपर्छ।”

थापाले गठबन्धनका दलहरुका बीचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बीचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताएका हुन्। स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले उल्लेख गरे।

“स्थानीय पार्टीका नेताहरुले ठीक छ भनेर भन्नुभयो भने हुन्छ। यहाँका साथीहरुले हुँदैन भनेर भन्दैगर्दा त्योभन्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर थोपर्न पाउँदैन,” थापाले भने, “त्यो थोपरेको कुरालाई तल कसैले मान्दा पनि मान्दैन। किनभने हामीले अहिले भुँइमा खसेको टिप्छु भन्दैगर्दा पोल्टाको पोखिने डर हुन्छ। हामीले पहिले आफ्नो घर सम्हाल्नुपर्छ।”

महामन्त्री थापाले व्यक्तिगत रुपमा आफू तालमेलको पक्षमा नरहेको भए पनि पार्टीले गरेको निर्णय मानेको पनि बताए। उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए।

“यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन। चुनाव अगाडि गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो। मत राखेँ,” थापाले भने, “तर, पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसके पछाडि पार्टीको त्यो निर्णयलाई मानेको छु। मान्नुपर्छ। पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो।”

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने पनि बताए। निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उनको भनाइ छ। पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved