साल २०७८ : कोरोनालाई जेनतेन जितेको वर्ष

देश हाक्न उच्च वहदामा बसेका हाम्रा नेताहरूले कोरोनाको पहिलो लहरबाट धेरै कुराहरू सिक्नुपर्थ्यो तर त्यसो भएन। त्यसको नतिजास्वरूप दोस्रो लहरमा डेल्टा भेरियन्टले धेरैलाई संक्रमित बनायो र उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना भयो।

साल २०७८ : कोरोनालाई जेनतेन जितेको वर्ष

काठमाडौं। नेपाल २०७८ सालमा पाइला टेक्दै थियो, उता विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पहिले नै गिजोलिसकेको थियो। पहिलो लहरबाट तंग्रिँदै गरेको नेपाललाई यस वर्षको शुरुवातीमै दोस्रो लहरले छोयो।

देश हाक्न उच्च वहदामा बसेका हाम्रा नेताहरूले कोरोनाको पहिलो लहरबाट धेरै कुराहरू सिक्नुपर्थ्यो तर त्यसो भएन। त्यसको नतिजास्वरूप दोस्रो लहरमा डेल्टा भेरियन्टले धेरैलाई संक्रमित बनायो र उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना भयो।

डेल्टा भेरियन्टले धेरै संक्रमितहरूलाई अस्पतालसम्म पुर्‍यायो तर धेरै बिरामीहरू अस्पतालमा बेड नपाएर भुईंमै लम्पसार हुनु पर्‍यो त्यति मात्र होइन, अस्पतालसम्म पुगेकाहरूले अक्सिजन नपाएरै ज्यानसमेत गुमाउनु पर्‍यो।

टेकु अस्पतालमा बेड खाली नहुँदा बिरामीहरू भुईंमै राखेर उपचार गरियो। समयमै अक्सिजन नपाएरै ज्यान गुमाएकाको अनुहार अझै पनि बिर्सन सकेका छैनन् उपचारमा सम्लग्न डा.अनुप बास्तोलाले।

पहिलो लहर भन्दा दोस्रो लहरमा फौलिएको डेल्टा भेरियन्ट निकै छिटो समुदायमा पुग्यो।

चौतर्फी रूपमा अक्सिजन पाउन हम्मेहम्मे परिरहेका बेला स्वास्थ्य मन्त्रालयले जनमानसमा यसको सहजीकरण गर्नुको साटो गैरजिम्मेवारपूर्ण तरिकाले ‘मन्त्रालयको सिफारिसबिना अक्सिजन भर्न नपाइने’ भन्दै सूचना निकाल्यो। तत्कालै गर्नुपर्ने कामलाई अझै लम्ब्याउँदै अक्सिजन खरीद गर्न मन्त्रालयको इजाजत लिन धाउनुपर्ने बाध्यताको सिर्जना गरिदियो।

कोरोना कालमा केन्द्रीय सरकार केही पन्छिन खोजे पनि स्थानीय तहले आफूसँग भएजति शक्ति परिचालन गरेर सन्तोषजन काम गरेको देखियो। तर यता स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले कोभिडको समयमा स्थानीय सरकारले सम्वन्य नै नगरेर आफ्नो इच्छाअनुसार काम गरेको आरोप लगाए।

त्यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलो प्राथमिकतामा कोभिड–१९ को रोकथाम, नियन्त्रण उल्लेख गर्दै पहिलेका वर्षहरू भन्दा स्वास्थ्यमा बजेट वृद्धि गरेर १ खर्ब २२ अर्ब ७७ करोड पुर्‍याइएको थियो।

कर्मचारी फेरबदलमै रमाए स्वास्थ्यमन्त्री

अघिल्लो सरकारले एकै पटक शिलान्यास गरेर शुरु गरेका ३ सय ९७ अस्पतालहरूको निमार्ण कार्य अझै हुन सकेको छैन्। कोरोनाको समयमा फन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीले प्रोत्साहान भत्ता पूर्ण रूपमा अझै पनि पाउन सकेका छैन।

साउनदेखि रिक्त स्वास्थ्य मन्त्रालय २२ असोजबाट मन्त्री विरोध खतिवडाले सम्हाले। स्वास्थ्यमा निकै ठूलो छलाङ मार्ने प्रतिबद्धता जनाए पनि उनी कर्मचारी फेरबदलमै अल्झिए।

लामो संसदीय राजनीतिबाट पहिलो पटक राजकीय पदमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले यसअघिका मन्त्रीहरूकै पदचाप पछ्याउँदै स्वास्थ्यका उच्च अधिकारीहरूको सरुवालाई नै प्राथमिकतामा राखे।

स्वास्थ्यमन्त्री भएको २ महीना नपुग्दै उनले झण्डै एक दर्जन सरुवा गरिसकेका छन्। नीतिगत अप्ठ्याराहरू सहज बनाउन भूमिका खेल्नुपर्ने मन्त्री उच्च अधिकारीहरूको सरुवामै केन्द्रित हुँदा मन्त्रालयका नीतिगत कामहरू अलपत्र पर्न थालेका छन् (नीतिगत काम छाडेर हाकिमहरूको सरुवामा रमाउँदै स्वास्थ्यमन्त्री, हेल्थ आवाज, २०७८ मंसीर १६ गते)

खोपका लागि सरकारलाई स्याबासी

परनिर्भर भए पनि नेपाल सरकारले कोरोनाविरुद्ध खोपमा प्रभावकारी काम गरेर देखायो। नेपालमा कोरोना भाइरस आइपुगेको करिब एक वर्षमै खोप अभियान अगाडि बढाइएको थियो। त्यो बेलाका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अनुदानस्वरूप भारतबाट कोभिडशिल्डको १० लाख डोज खोप ल्याउन पहल गरेका थिए र उक्त खोप आइपुगेपछि नेपालमा खोप अभियान शुरु गरिएको थियो।

विश्व बजारमा खोप तानातान भइरहेको बेला नेपालले सहजै खोप ल्याउन सकेको थियो। यसप्रति धन्यवाद ज्ञापन गर्छन् जनस्वास्थ्यविद् डा.शरद वन्त। खोपकै कारण कोरोनाबाट हुन सक्ने मानवीय क्षति पनि नेपालमा कम भएको डा. शेरबहादुर पुनको भनाइ छ।

अनुदानमै भए पनि नेपालमा खोपको अभाव त्यति नदेखिएको उनको आकलन छ। शुरुमा खोपप्रतिको विश्वमा केही प्रश्न उठे पनि पछि त्यो बिस्तारै हराउँदै गयो। “खोप अभियानले नै दोस्रो र तेस्रो लहरमा हुन सक्ने क्षति रोक्नमा निकै ठुलो भूमिका खलेको कुरा बिर्सन हुदैन, उनले भने।”

यति भनिरहँदा पनि खोपको लाइनलाई व्यवस्थापन गर्न नसक्दा त्यसले बढाएको जोखिमलाई भने भुल्न नसक्ने समेत उनले बताए। यसै वर्ष १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइएको थियो। जसको कभरेज निकै कम समयमा राम्रै देखिएको थियो।

२०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्याको सबैलाई पूर्ण खोप प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक खोपको मौज्दात सरकारले सुनिश्चित गरिसकेको छ। ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप यही चैतको १५ देखि लगाउने भनिए पनि त्यो काम भने सञ्चालन हुन सकेको छैन।

नेपालमा हालसम्म चार करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप आइसकेको छ।

नेपालमा २९ चैत्रसम्म लक्षित जनसंख्याको १ करोड ८६ लाख ८९ हजार ७६३ (९४ प्रतिशत) ले पहिलो मात्र खोप लगाएका छन् भने दोस्रो मात्रा खोप १ करोड ६५ लाख ३४ हजार २०६ (८३ प्रतिशत) ले लगाएका छन्।

त्यस्तै नेपालको कुल जनसंख्याको ७६ प्रतिशतले पहिलो मात्र र दोस्रो मात्रा ६६ प्रतिशतले लगाएका छन्। कोरोनाविरुद्ध अतिरिक्त मात्र खोप लगाउनेको संख्या पनि २३ लाख ३७ हजार २८५ पुगिसकेको छ।

यति भनिरहँदा रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोनाविरुद्ध खोप खोजी गर्न सरकारले छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको कुरा पनि बिर्सनु हुँदैन।

कोरोनामा भएको अस्पतालहरूको स्तरोन्नति

कोरोना भाइरस सबैका लागि नितान्त नौलो र अनभिज्ञ जस्तै थियो। नेपालमा शुरुआती चरणमा नेपालमा कोभिड संक्रमण पुष्टि गर्नका लागि पनि बाहिर पठाउनुपरेको थियो र जाँचका लागि पनि किट र उपकरण नहुँदा केही समय समस्या उत्पन्न भयो।

लहरैपिच्छे संक्रमितहरू बढ्दै गए भने बिरामीलाई आवश्यक पर्ने आईसीयू, भेन्टिलेर, आसोलेसन बेड, एचडीयू र अक्सिजनजस्ता सामग्रीको आवश्यकता पनि बढ्दै गयो। अस्पतालमा भएका सीमित स्रोत साधनले मात्र बिरामीको चापलाई थेग्न नसकेपछि सातै प्रदेशका अस्पतालाई स्तरोन्नति गराइयो।

सरकारले देशभरका अस्पतालहरूमा २५ वटा अक्सिजन ट्यांक स्थापना गर्ने योजना बनायो। त्यसमध्ये १९ वटा जडान गरिसकेको छ। त्यस्तै एक सय सात वटा अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाइएकोमा ८७ वटा जडान गरिसकेको छ।

देशैभर अक्सिजन कन्सन्ट्रेटर ६ सय ९३ वटा, अक्सिजन सिलिन्डर १३ हजार नौ सय ३९, भेन्टिलेटर एक हजार ८ सय, आईसीयू बेड दुई हजार सात सय ९७, एचडीयू ३ हजार आठ सय ४६, आइसोलेशन बेड आठ हजार दुई सय दुई वटा रहेका छन्।

काठमाडौं उपत्यकामा मात्र आइसोलेशन बेड दुई हजार चार सय ९४, एचडीयू तीन सय २४, आईसीयू बेड चार सय ४५, भेन्टिलेटर दुई सय ५४ वटा रहेको छ।

सहजै टरेको तेस्रो लहर

नेपालमा पुनः २० पुसदेखि कोभिड संक्रमित संख्या ह्वात्तै बढेपछि तेस्रो लहर शुरु भएको थियो। तेस्रो लहरमा तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्टले निकै संक्रमण फैलायो। तेस्रो लहरमा हालसम्मकै बढी १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा एकै दिनमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो। २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार बढीमा संक्रमण पुष्टि भएको थियो।

ओमिक्रोन भेरियन्ट निकै संक्रामक भए पनि घातक भने कम भएकाले नै अस्पताल भर्ना हुने दर दोस्रोभन्दा निकै देखियो। तर तेस्रो लहरले भने निकै धेरै स्वास्थ्यकर्मीलाई संक्रमित बनायो। त्रिवि शिक्षण अस्पतालमा कार्यररत कूल १८ सय कर्मचारीमध्ये झण्डै आधाभन्दा बढी संक्रमित हुन पुगे। जसले गर्दा उपचार सेवामा असर पुग्न गयो।

त्रिवि अस्पतालको मात्र नभएर देशभरका प्रायः ठूला अस्पतालमा कर्मचारीहरू संक्रमित बनेपछि धेरै सेवाहरू बन्द भएका थिए। संक्रमित हुनेको संख्या धेरै भए पनि ओमिक्रोनले मानवीय क्षति भने निकै कम गराएको डा.पुनको भनाइ छ।

“नेपालमा पहिलो र दोस्रो लहरमा देखिएका कडा भेरियन्ट सायदै अब आउँदैन होला”, डा. पुन भन्छन्, “जसरी ओमिक्रोन कमजोर देखियो अब आउने भेरियन्टहरू पनि कमजोर बन्दै जाने संकेत मैले देखेको छु तर अझै पनि खोप लगाउनेको संख्या केही बाँकी रहेकाले स्वासथ्यका मापदण्डहरू पालन गर्न छोड्नु हुँदैन।”

यसरी २०७८ सालमा फैलिएको कोरोनाको दोस्रो लहरले धेरै मानिसलाई प्रभाव पारेता पनि तेस्रो लहरमा जसरी ओमिक्रोन कम घातक देखियो त्यसले अब आउने भेरियन्ट सायदै पहिलाको जस्तो घातक नहुने हो कि भन्ने आशा पलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved