जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुँदै

नेपालभ्युज

जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुँदै

जनकपुरधाम। जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी) को २०० शय्याको अस्पताल भवनको निर्माण हुने भएको छ।

अस्पतालबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा निर्माण गरिन लागेको विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसीसी) आधुनिक अमेरिकी क्यान्सर अस्पताल जस्तै बनाउने फाउन्डेशनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए।

डा. शाहले नयाँ वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा २०० शय्याको क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरेको जानकारी दिए। उनले शिलान्यास समारोहको प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हुने र वैशाख २ गते शिलान्यास कार्यक्रम गरिने बताए।

फाउन्डेशनका अध्यक्ष डा. शाहले भने, “यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्को स्थित फोंग एण्ड चान आर्किटेक्ट्स द्वारा डिजाइन गरिएको छ। उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ,” डा. शाह भन्छन्, “पहिलो चरणमा यो अस्पताल १ लाख वर्ग फिटमा सञ्चालन हुनेछ। हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौं।” अस्पताल भवन निर्माणको लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेका जानकारी डा. शाहले दिए।

बीटीएफसीसीले प्रति वर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ। विगतमा, यीमध्ये धेरै बिरामीहरूले क्यान्सरको उपचारका लागि चितवनको भरतपुर वा काठमाण्डौं ८–१० घण्टा वा बढी यात्रा गर्नुपर्ने बाध्यता हुनुको साथै यात्राका लागि स्रोतसाधन नभएकाहरूले उपचार नै पाउँदैनथिए।

हाल जनकपुरधाम मा बीटीएफसीसी को २५ शैंयाको अस्पताल सञ्चालनमा रहेको छ। जनकपुरधामको कपिलेश्वर रोडमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवाहरूमा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपतकालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन्। बीटीएफसीसीले शिक्षा र क्यान्सर अनुसन्धानको लागि केन्द्रको रूपमा सेवा गर्दै नयाँ सुविधामा अझ बढी बिरामीहरूलाई अत्याधुनिक उपचार उपलब्ध गराउने लक्ष्य राखेको छ।

डा. शाले यो दक्षिण एशियाकै आधुनिक अस्पतालको रुपमा स्थापित हुने दाबी गरेका छन्। “हामी क्यान्सरको उपचारमा २१ औं शताब्दीको अत्याधुनिक टेक्नोलोजी प्रयोग गर्नेछौं।’’ डा. शाह भन्छन्, “यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताहरूले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसको साथसाथै यो संस्था क्यान्सर निदानको लागि उच्च कोटीको रिसर्च सेन्टरको रूपमा पनि काम गर्नेछ।”

विनयतारा क्यान्सर ट्रष्ट (बीसीटी) का अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह का अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमुल परिवर्तन ल्याउनेछ। “हामी अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचारलाई मधेश लिएर आउँदैछौं। यसलाई मधेश परिवर्तनको अभियानको रुपमा हामीले लिएका छौं। यहाँको अर्थतन्त्र मजबुत हुनेछ, मानिसहरुले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाको लागि मधेश बिरामीहरुको गन्तव्य स्थल हुनेछ। अबको १० वर्षमा तपाईं अहिले यहाँ जे देखिरहनुभएको छ त्यो तस्वीरमा सीमित इतिहास बन्नेछ।”

विनयतारा क्यान्सर ट्रष्ट एड्भाइजरी कमिटिका अध्यक्ष, प्रसिद्ध चर्मरोग विशेषज्ञ, डा. अनिल कुमार झा भन्छन् “विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेश, सिङ्गो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो। हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौतीहरू छन् तर बीटीसी परिवार यसलाई सम्भव र सत प्रतिसत सफल बनाउनेमा प्रतिबद्ध छौं।”

के हो विनयतारा क्यान्सर ट्रष्ट ?

विनयतारा क्यान्सर ट्रष्ट २०७५ श्रावणमा कम्पनी रजिष्ट्रारको कार्यालयमा (रजिस्ट्रेसन नं १९३८९७-०७५-०७६) गैर नाफामुखी संस्थाको रुपमा दर्ता भएको हो। स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्न समर्पित यस ट्रष्टले २०७५ साल मंसीर देखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर संचालनमा ल्याएको हो। बीटीएफसीसीको आफ्नो भवन निर्माण गरी यसलाई विश्वस्तरीय अस्पतालको रुपमा स्थापित गरेपछि ट्रष्टले आफ्ना अन्य योजनाहरुलाई अगाडि बढाउनेछ।

विनयतारा फाउन्डेशन (अमेरिका) क्यान्सरको शिक्षा तथा उपचारका क्षेत्रमा कार्यरत गैर नाफामुखी गैर सरकारी संस्था हो। फाउन्डेशनका प्रमुख परियोजनाहरूमा अमेरिका तथा अन्य मुलुकमा हेमाटोलोजी र ओन्कोलोजी सम्मेलनहरू र नेपालमा क्यान्सर अस्पतालको स्थापना समावेश छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved