यातायात व्यवसायीलाई गृहमन्त्रीको आग्रह, ‘यात्रुलाई बोझ नहुनेगरी भाडा लिनू’

नेपालभ्युज

यातायात व्यवसायीलाई गृहमन्त्रीको आग्रह, ‘यात्रुलाई बोझ नहुनेगरी भाडा लिनू’

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरूलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्। गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे।

गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए। त्यसका लागि सरकारले सरोकारवाला पक्षहरूसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाइ थियो।

उनले भने, “यात्रुहरूलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस्। त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई। अब यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो। यात्रुहरूको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ। भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस्। अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ।”

गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरूको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताए। कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी सञ्चालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताइन्।

ब्रेक फेल भएको गाडी चलाउँदा कैयौंको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरूलाई सञ्चालन गर्न दिन नमिल्ने पनि उनले बताए। मन्त्री यादवले गाडीहरूको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरूलाई सचेत गराइन्।

मन्त्री यादवले प्रदूषण फैल्याउने खालका गाडीहरू संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरूले ध्यान दिनुपर्ने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved