स्थानीय निर्वाचनमा बेनीः १० ओटै वडा जित्ने कांग्रेसको रणनीति, एमालेलाई साख जोगाउन चुनौती

नेपालभ्युज

स्थानीय निर्वाचनमा बेनीः १० ओटै वडा जित्ने कांग्रेसको रणनीति, एमालेलाई साख जोगाउन चुनौती

म्याग्दी। स्थानीय निर्वाचनको ३६ दिन बाँकी रहँदा म्याग्दीमा सबै दलहरूका आकांक्षीहरू जनमत आफ्नो पक्षमा लिन आन्तरिक तयारीमा जुटेका छन्। सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा तालमेल गरेर निर्वाचनमा जाने र पाँचवटै पार्टीका तर्फबाट संयुक्त उम्मेदवार उठाउने निर्णय गरेपछि नेकपा (एमाले) ले नयाँ चुनावी रणनीति खोजी गरिरहेको बुझिएको छ।

विसं २०७४ को निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित एक वडाध्यक्ष जितेको नेपाली कांग्रेसले अहिले बेनी नगरपालिकाका–१० वटै वडाहरू जित्ने रणनीतिका साथ अघि बढेको छ भने एमालेले नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदै प्रमुख र उपप्रमुख पनि जित्ने तयारीका साथ उम्मेदवार छनोट गर्ने जनाएको छ।

विसं २०७४ को निर्वाचनमा बेनी नगरपालिकामा एमालेले आठवटा वडा जितेको थियो। एमालेले गत स्थानीय तहको निर्वाचनमा म्याग्दीका ६ स्थानीय तहहरूमध्ये धवलागिरि र मङ्गला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित अन्य चार वडा स्थानीय तहका अधिकांश वडाहरू जितेको थियो।

कांग्रेसले चार स्थानीय तहमा जीत हात पारेको तर अहिलेको अवस्था भने फेरिएको छ। एमालेको मतभन्दा तत्कालीन अवस्थामा कांग्रेस र माओवादीले ल्याएको मत मात्रै जोड्दा पनि अधिकांश पालिकामा एमाले पछि देखिन्छ। त्यसमाथि एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी), जसपा तथा राष्ट्रिय जनमोर्चाको मत गठबन्धनमा जोड्दा एमालेलाई आगामी चुनावको विरासत जोगाउन चुनौती छ।

सत्ता गठबन्धनको चुनावी तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन्। सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा पनि चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेपछि एमालेले पनि नयाँ रणनीति उपनाउने बुझिएको छ। जसअन्तर्गत एमाले राप्रपासँग मिलेर चुनावमा जानसक्ने आङ्कलन गरिएको छ।

बिहीबार बेनीमा बसेको बैठकले जिल्लाको ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति कायम गरेका हुन्। कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्वीर’को संयोजकत्वमा बसेको पाँच दलको बैठकले आगामी ३० वैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेदवार बनाएर जाने सहमति गरेका हुन्।

वडा तहबाट आएको रिपोर्टका आधारमा साझा उम्मेदवारको टुङ्गो लाग्ने कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले जानकारी दिए। “सबै दलको वडा तहबाट रिपोर्ट आएपछि अर्को बैठक बसेर रिपोर्टका आधारमा म्याग्दीका सबै वडा र पालिकामा साझा उम्मेदवार उठाउने निर्णय भएको छ”, सचिव पुनले भने। म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्रसमेत निर्माण गरेका छन्।

चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भए पनि कसले कहाँ उम्मेदवारी दिने भन्ने विषयमा भने अझै टुङ्गो लागेको छैन। बैठकमा कांग्रेस सभापति गर्वुजा, माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीबाट देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए।

विसं २०७४ को निर्वाचनमा जिसस उपप्रमुखसहित एक नगरप्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडामध्ये १५ वटा वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो। माओवादी केन्द्रले सातवटा वडाध्यक्ष जितेको थियो।

त्यस्तै एमालेले जिल्ला समन्वय समितिको प्रमुखसहित दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडाध्यक्षमा विजयी भएको थियो भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved