गण्डकी सरकारका प्रवक्ताले भने, ‘कर्मचारी हातपात गरेको जानकारी आएको छैन’

नेपालभ्युज

गण्डकी सरकारका प्रवक्ताले भने, ‘कर्मचारी हातपात गरेको जानकारी आएको छैन’

पोखरा। गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन्।

मंगलबार (हिजो) अपरान्ह मन्त्री गुरुङले उनकै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताए।

प्रदेश सरकार भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय लिने भनेका बताए।

सो जानकारी आउनेबित्तिकै आफूले मिडियामार्फत नै त्यसलाई सार्वजनिक गर्ने प्रतिबद्धता प्रवक्ता आफूसँग रहेको उनले बताए। भने, “मैलेचाहिँ मिडियामार्फत नै यो जानकारी पाएको हुँ। आधिकारिक जानकारी मकहाँ आइपुगेको छैन। मिडियाकै जानकारीलाई आधार मानेर मैले प्रमुख सचिवज्यूसँग योबारे जानकारी छ कि ? भनेर सोधेको थिए। उहाँले योबारेमा जानकारी मुख्यमन्त्री कार्यालयको आएको र मुख्यमन्त्रीज्यू बाग्लुङ हुनु भएकाले फर्केर आएपछि माननीय खेलकुदमन्त्री र कर्मचारीसँग सोधेर योबारे एउटा निर्णय लिनुहुन्छ भनेको कुरा जानकारी भएको हुनाले उहाँले जे निर्णय लिनुहुन्छ। म सरकारको प्रवक्ता भएको नाताले मिडियामार्फत नै जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दछ।”

प्रवक्ता खड्काले मुख्यमन्त्री कार्यालयको आधिकारिक निर्णय आउनेबित्तिकै तत्काल त्यसबारे मिडियामार्फत नै जानकारी गराउने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved