राष्ट्रपतिले १ वैशाखमा विभूषण प्रदान गर्ने

नेपालभ्युज

काठमाडौं । रष्ट्रपति विद्यादेवी भण्डारीले १ वैशाखमा विभिन्न मानपदवी एवं विभूषण प्रदान गर्ने भएकी छिन्। सरकारले विभूषण पाउनेहरूको घोषणा संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन गरेको थियो।

गृह मन्त्रालय विभूषण शाखाले मानपदवी प्राप्त गर्ने व्यक्तिहरूलाई यही महिनाको २३ देखि २८ गतेसम्म परिचयपत्र खुल्ने कागजसहित मन्त्रालयमा सम्पर्क राख्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ।

मानपदवीबाट विभूषित हुनेहरूका लागि नेपाली पोसाक अनिवार्य गरिएको छ । मौलिक परम्परा र संस्कृति पहिचानका लागि विभूषितहरूले जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने पोसाक लगाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानव पदवी वितरण गरिएको छ।

मन्त्रालयका अनुसार, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ। तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved