जाडो छल्न हिंडेकाहरू बल्ल मनाङ फर्कदैं, चुनावी चहलपहल शुरू भएन

नेपालभ्युज

जाडो छल्न हिंडेकाहरू बल्ल मनाङ फर्कदैं, चुनावी चहलपहल शुरू भएन

मनाङ।  स्थानीय तह निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि सहरसम्म चुनावी चहलपहल बढे पनि मनाङ्ममा भने चुनावी सरगर्मी बढेको देखिएको छैन।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनौट गरिरहेका छन्। तर हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरु नै शुरू भएको छैन।

जिल्लावासी जाडो छल्न बेँसी झरेकाले पनि यहाँ चुनावी चहलपहल सुरु हुन नसकेको हो। चैतको दोस्रो सातापछि यहाँका स्थानीय विस्तारै गाउँ फर्कने गर्दछन्।

गर्मी बढेसँगै जिल्लावासी मनाङ फर्कन थालेपछि चुनावी प्रचारप्रसार बढ्ने देखिएको छ। जिल्लाका नेताहरु अहिले गाउँ पुगेका छैनन्। धेरैजसो मतदाता पनि जिल्ला बाहिर रहेकाले पनि नेताहरु जिल्लामा नपुगेको आँकलन गर्न सकिन्छ।

जिल्लाका राजनीतिक दलका नेताहरु गाउँ नपुगे पनि निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाएको बताएको छ।

माथिल्लो मनाङमा चुनावी माहोल नबनेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। ‘‘अब नेताहरू आउनुहुन्छ होला, विस्तारै तात्ने बेला हुन लागेको छ”, उनले भने।

उनका अनुसार चिसो छल्न काठमाडौँ–पोखरा, अन्यत्र गएका स्थानीयवासी विस्तारै फर्किन थालेका छन्। नार्पाभूमिका गाउँ पनि अहिले सुनसान छन्। स्थानीयसँगै केही जनप्रतिनिधि र कर्मचारी पनि फर्किन बाँकी नै छ। गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाका अनुसार बाहिर रहेका गाउँपालिकाका बासिन्दा फर्किएका छैनन्।

निर्वाचन कार्यालयको तयारी

चुनावी कार्यक्रमहरु सञ्चालन नभएको भए पनि निर्वाचन कार्यालयले तयारी गरिरहेको छ। स्थानीय तह निर्वाचनका लागि मनाङमा २०० कर्मचारी खटाउने निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरुसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत काम भइरहेको छ।

निर्वाचन आयोगले मनाङ जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ। खनाललाई सदरमुकाम चामे गाउँपालिका जिम्मेवारी दिएको छ।

निर्वाचन आयोगले मनाङको नासो गाउँपालिकामा जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडु, नार्पाभूमि गाउँपालिकामा सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र मनाङ ङिस्याङ गाउँपालिकामा सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ।

दलहरुले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना कामअघि बढाएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।

उनका अनुसार निर्वाचन अधिकृतका लागि स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सिसीटीभी क्यामरा, इन्टरनेट जस्ता आवश्यक सुविधा मिलाउने कार्य भइरहेको छ। मतदान र मतगणनाको जानकारी आयोगमा श्रव्य र दृश्य दुवै माध्यमबाट प्रेषण गर्नुपर्ने भएकाले उक्त जिम्मा स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यहरु गरिएको छ।

पाँच दल थपिए

आगामी स्थानीय तहको निर्वाचनका लागि मनाङमा छ वटा मान्यता प्राप्त दलबाहेक पाँच वटा दल दर्ता भएका छन्।

मनाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन्। तीमध्येका अधिकांश दलले चुनावी अभियानको थालनी गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved