दलहरूलाई प्रमुख निर्वाचन आयुक्तले भने, ‘अब तपाईंहरूको सुशासन हामी हेर्छौं’

नेपालभ्युज

दलहरूलाई प्रमुख निर्वाचन आयुक्तले भने, ‘अब तपाईंहरूको सुशासन हामी हेर्छौं’

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरू कत्तिको प्रतिवद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि आयोगले उनीहरूलाई नै दिएको स्पष्ट पारे।

बिहीबार ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा निर्वाचन सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा थपलियाले सुशासन र सदाचारको कुरा गर्ने राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको पालना आफूले गरे/नगरेको आफैंले अनुगमन गर्नुपर्ने पनि बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबैले अनुशासित ढंगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेर देखाउने काम गर्नुपर्ने स्पष्ट पारे। “अब आयोगले कस्तो अनुगमन गर्छ, होइन। उम्मेदवार र राजनीतिक दलले आफ्नो अनुगमन कस्तो गर्दोरहेछ भन्ने आयोगलेचाहिँ हेर्छ। अब तपाईहरूले हिजो ठड्याउँदै गरेको औंला अब तपाईंहरूतिर गएको छ। अब हामी हेर्न चाहन्छौं साच्चै नै सुशासन र सदाचारको कुरा गर्ने हाम्रा राजनीतिक दलहरू र उम्मेदवारहरू निर्वाचन आचारसंहिताको पालनामा कत्तिको प्रतिबद्ध छन् ? भनेर हामीले हेर्ने हो,” थपलियाले भने।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनताको मत, अभिमत पैसा र पदले खरिदबिक्री गर्न सकिँदैन भन्ने मान्यताका आधारमा निर्वाचनमा खर्चको सीमा तोक्ने काम आयोगले गरेको बताए। गाउँपालिकाको अध्यक्षका लागि तोकिएको निर्वाचन खर्चको सीमा नपुग हुने प्रमाण ल्याए आफूहरू त्यसमा पुनरवलोकन गर्न तयार रहेको पनि उनले बताए।

राजनीतिक दलहरूले निर्वाचन खर्च महंगो भयो भनेर आफैं भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने उनले तर्क गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन खर्च धेरै भए लोकतन्त्र खतरामा पर्नेतर्फ पनि राजनीतिक दल र उम्मेदवारहरूलाई सचेत गराए।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन खर्चिलो भए लोकतन्त्र नै खतरामा पर्ने भन्दै त्यसमा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरे। निर्वाचनमा धेरै खर्च भए त्यसबाट निर्वाचित हुने जनप्रतिनिधिहरूले सुशासन नभई त्यसको उल्टो काम गर्नुपर्ने अवस्था आउनेतर्फ पनि उनले स्मरण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved